विश्व वरीयतामा नेपाली महिला भलिबल
काठमाडौं, माघ २२ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपालले ८७औं स्थान हासिल गरेको छ ।
विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औं स्थान हासिल गरेको हो ।
एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ । वरीयताक्रममा नेपालको ५७ अंक रहेको छ ।
नेपाली महिला भलिबल टोलीले बंगलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो ।
त्यस्तै, नेपालमा नै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला टोलीले ऐतिहासिक रजतपदक हात पारेको थियो ।
त्यसैगरी, वरीयताक्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो ।
३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।
यस्तै, इटाली चौथो, टर्की पाँचौं, सर्विया छैटौं, जापान सातौं, रसिया आठौं, डोमिनिक गणतन्त्र नवौं र दक्षिण कोरिया दशौं स्थानमा छन् । (रासस)