ड्रागन बोट रेस फेस्टिभल सकियो, सिचुवान पहिलो

पोखरा, असार ९ ।
दक्षिण एसियामै पहिलो पटक पोखरामा ड्रागन बोट रेस फेष्टिभल भएको छ । चीनमा लामो इतिहास भएको महोत्सव अन्तर्गत नेपाल चीनमैत्रीपूर्ण प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । २ सय र ५ सय मिटर दुवैतर्फको उपाधी जित्दै सिचुनावले ११ लाख पुरस्कार जितेको छ । नेपाली टीम नारा दोस्रो बनेको छ । दुवै विधामा दोस्रो भएको नाराले ७ लाख रुपैयाँ हात पारेको छ भने दुवै विधामा तेस्रो भएको चीनको युनान टीमले ४ लाख हात पा¥यो । प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए ।

शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । ८ वटै टिमले नगद १÷१ लाख रुपैयाँ प्राप्त गरेका छन् । विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनिया राजदूत छन् सोङ, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा प्रयोग गरिएका ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । फाइबरबाट निर्मित सबै डुंगा चीनबाटै ल्याइएको हो । प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडीहरु विमान चार्टर्ड गरेर पोखरा आएका थिए । योसँगै अब हरेक वर्ष पोखरामा ड्रागन बोट रेस फेस्टिभल आयोजना गर्ने बताइएको छ ।