यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर

पोखरा, पुस ६ ।
यातायात व्यवस्था कार्यालय पोखराका निमित्त कार्यालय प्रमुखसहित सात कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्री गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले सात जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले गत सोमबार यातायात व्यवस्था कार्यालय पोखराका निमित्त प्रमुखसहित सात कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै सजाय सुनाएको हो । आरोपितहरु मध्ये प्रतिवादी बनाईएका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा र शाखा अधिकृत हरिप्रसाद गौतमले भने सफाइ पाएका छन् ।

गण्डकी प्रदेशबाट ०७५ मंसिर तथा ०७६ को कात्तिक र मंसिरमा सञ्चालित सवारीचालक अनुमतिपत्रको परीक्षा परिणाम फेरबदल गरेको अभियोगमाथि सुनुवाइ गर्दै विशेष अदालतबाट यस्तो फैसला सुनाईएको हो ।

उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुलाई पास गराएका थिए ।

विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायम भएका सबैलाई जनही तीन–तीन महिना कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ । घटनाको तीन वर्षपछि अख्तियारले अनुसन्धान सुरु भएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ चैत ०७८ मा विशेषमा मुद्दा दायर गरेको थियो ।

विशेषका अनुसार भरतमणि बराल, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, मोहनमणि सुवेदी र झलक पौडेलमाथि कसुर कायम भएको हो । पौडेल तत्कालीन निमित्त कार्यालय प्रमुख र शाखा अधिकृत हुन् भने बाँकी कम्प्युटर अधिकृत र अपरेटरहरू हुन् ।

उनीहरू मिलेर विभिन्न वर्गको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका र उपस्थितसमेत नभएका एक सय १६ परीक्षार्थीहरूलाई उत्तीर्ण भनी प्रयोगात्मक परीक्षामा सामेल गराएका थिए । उनीहरूले प्रयोगात्मक परीक्षामा पास भएका दुईजनालाई भने अनुत्तीर्ण बनाई परीक्षाको परिणाम फेरबदल गरेको पाइएको थियो ।