बजेटमा खेलकुद क्षेत्र उपेक्षित भयोः मन्त्री लिम्बु

पोखरा, असार ४ ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले विगतको वर्षमा भन्दा धेरै कम बजेट छुट्याइएको बताए ।

‘सरकारले सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा परेन, यो भन्दा अगाडि झण्डै पौने ४ अर्बको बजेट छुट्याइएको भएपनि अहिले घटाएर १ अर्ब ८८ करोडको सिलिङ योजना आयोगले पठायो’ उनले भने । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गरेको भएपनि त्यसलाई सम्बोधन नगरिएको उनले खुलाए । मन्त्री लिम्बुले खेलसंघमा विवाद हुँदा खेल क्षेत्रमा समस्या हुने भएकोले संघहरुलाई इमान्दार बन्न जोड दिए ।

भन्छन्, ‘संघहरुमा विवाद देखियो । यो विवाद अन्त्य हुनुप¥यो । एक खेल एक संघ हुनुपर्ने भन्ने ऐनमा व्यवस्था छ । यहाँ एउटै खेलको थुप्रै संघ भएपछि विवाद हुने भयो । त्यसकारण संघमा रहेका साथीहरुले पनि खेलको वृहत्तर विकास र प्रवद्र्धनको लागि काम गर्नुहोस् ।’ राजनीतिक स्वार्थको लागि मात्र संघमा नलाग्न उनको आग्रह छ ।