मध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन

पोखरा, कात्तिक २७ ।
मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा देखिएको विवाद समाधानका लागि समिति गठन भएको छ । प्रदेश सांसद विन्दुकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । पोखरा महानगरपालिका १६ र १९ नम्बर वडामा देखिएको विवाद समाधानका लागि बैकल्पिक सुझाव दिन समिति गठन गरिएको हो । समितिमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, पोखरा महानगरपालिका वडा नं।१६ र १९ का अध्यक्षहरु अमृत शर्मा तिमिल्सीना र पुष्पेन्द्र पाण्डे, पूर्व अध्यक्ष जीवनप्रसाद आचार्य र शोभा मोहन पौडेल, संघर्ष समितिका अध्यक्ष गोविन्द बस्नेत, सचिव सन्दीप थापा र सल्लाहकार खेमलाल अधिकारी सदस्य छन् ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराई सल्लाहकार र मध्य पहाडी लोकमार्ग आयोजना प्रमुख कल्पना अधिकारी सदस्य सचिव छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली लगायतको उपस्थितिमा छलफल पछि विकल्प निकाल्न समिति गठन गरिएको हो । समितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्नेछन् ।

‘मंसिर १५ गतेसम्म समय छ । छलफल चलाइसक्यौं,’ संयोजक थापाले भने, ‘२–३ वटा विकल्पहरुमा छलफल भैरहेको छ । तिहार लगत्तै वृहत बैठक बसेर प्रतिवेदन बनाउछौं ।’ लामो समयको विवादका कारण लोक मार्ग निर्माण कार्य विलम्ब भैरहेको छ । यो खण्डको रुट टुंगिनै निकै लामो समय लागेको थियो । सुरुमा भोर्लेटारबाट बेगनासताल जोड्ने प्रश्ताव थियो । त्यसलाई फेरेर भैंसैबाट काहुँखोला हुँदै पोखरा निकाल्ने प्रश्ताव गयो । त्यहाँ पनि घर र निजी सम्पत्ति बढी पर्ने भएपछि मौजा निकालेर अर्मला हुँदै महेन्द्रगुफाबाट सीधै याम्दी लगिएको हो ।

यो ठाउँमा व्यक्तिका जग्गा धेरै पर्ने भएकोले जानकारी नै नदिई निर्माणको ठेक्का लगाइएको भन्दै स्थानीय आक्रोशित छन् । कालिखोलादेखि याम्दीसम्मको सडकमा रहेको विवादलाई समाधान गर्न समितिले तोकिएकै समयभित्र काम गर्ने थापाले बताए । ‘ठेक्का प्रक्रियामा नै त्रुटी भएको, सार्वजनिक सुनुवाई नगरिएको लगायत गुनासो छ । आफ्नो जग्गाबाट बाटो आउँदैछ भन्ने पनि नागरिकले थाहा पाएनछन्,’ उनले थपे, ‘डीपीआर लगायत काममा पनि समस्या देखियो । स्थानीयले विरोध गरेपछि उनीहरुका माग सम्बोधन गर्न सक्दो पहल गर्नुपर्छ ।’

उनले अहिले प्रश्तावित ४ लेनलाई घटाएर २ लेनमा झारे प्रश्तावित रुटबाटै जोड्न सकिने बताए । अन्यथा रुट नै फेर्नुपर्ने उनको सुझाव छ । तर आयोजनाले प्रश्तावित रुटमा धेरै परिमार्जन गर्न नमिल्ने जनाएको छ ।