आइसिसी विश्वकप छनोट चरणबाटै बाहिरियो नेपाल

पोखरा, असार ९ ।
आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा नेपाल नेदरल्यान्डलाई जित्नैपर्ने दबाबमा रहेको खेलमा ७ विकेटले पराजित भएसँगै विश्वकप छनोटको ‘सुपर सिक्स’मा पुग्न असफल भयो ।

नेपाल पराजित भएसँगै समूहको शीर्ष तीन समीकरण पूरा भएको छ । सुपर सिक्समा पुग्ने टोलीमा समूह ‘ए’बाट जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्ड्स रहे। नेपाल र अमेरिका भने समूहचरणबाटै बाहिरिए । आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै खराब प्रदर्शन गरेको थियो ।

नेपालका लागि कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा ४४.३ ओभरमा १६७ रनमात्र बनाउन सकेको थियो । जवाफमा उक्त लक्ष्य नेदरल्यान्डसले २७ ओभरमा नै ३ विकेट गुमाएर पूरा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ९० रनको इनिङ खेल्दा बिक्रमजित सिंहले ३० रन बनाए । त्यस्तै, बास डे लिडले ४१ रनको अविजित इनिङ खेले । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्शन झाका नाममा एक विकेट रह्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए । त्यस्तै, भिम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए । थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको १४ रन बनाउँदा गुल्शन झा १५ रनमा आउट भए । त्यस्तै, सन्दीप लामिछाने २७ रनमा आउट भए ।