‘देश्ना स्मृति कप’ टुँडिखेलमा जारी, दोस्रो दिन ३ समूह बाहिरिए, बुधबार समेत ३ खेल हुने
पोखरा, कार्तिक २६ ।
ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज, नयाँगल्ली भेट्रान्सले जीत हासिल गरेका छन् ।
पहिलो खेलमा गार्डेन एफसीले लाइन्स क्लबलाई १ का विरुद्ध ३ गोलले सहज जीत निकाल्यो । एफसीको जीतका लागि विकास गुरुङले २, मनकाजी गुरुङले १ गोल गरेका थिए । लाइन्सका तर्फबाट सान्त्वना गोल फर्काएका पनि समूहलाई जीत दिलाउन सकेनन् ।
मर्निङ गाइज र विश्वकर्मा सेवा समाजबीच भएको दोस्रो खेलमा विश्वकर्मा सेवा समाजले १–० गोलले जीत निकाल्यो । जीतका लागि राजेश श्रेष्ठले निर्णायक गोल गरेका थिए । खेल अवधिभर गोल फर्काउन नसक्दा मर्निङ गाइज पहिलो चरणबाटै बाहिरियो ।
अन्तिम खेलमा नयाँगल्लीले हेमजा युनाइटेडलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । जीतका लागि नयाँगल्लीका नरेश केसीले २, झकबहादुर क्षेत्रीले, दिलिप गुरुङ र हिटलर घलेले समान १÷१ गोल गरे । युनाइटेडका तर्फबाट प्रकाश सापकोटाले टिमका तर्फबाट सान्त्वना गोल फर्काएको खेल संयोजक अञ्जान देवकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तेस्रो दिन बुधबार समेत ३ खेल हुनेछन् । जसमध्ये तेस्रो दिनको पहिलो खेल लेकसाइड विरुद्ध कस्केरी भेट्रान्स बीच हुने आयोजकले जनाएको छ ।