सुचना प्रविधिप्रति विद्यार्थीको लगाव बढाउन फेदीखोलामा वक्तृत्वकला

पोखरा, भदौ २४ ।

४० औं राष्ट्रिय शिक्षा दिवसको पुर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयका साकार बस्नेत प्रथम भएका छन् । त्यसैगरि दामगाडे माध्यमिक विद्यालयकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने जनआदर्श माविका सविन पौडेल तृतीय भएका छन् । त्यस्तै जनप्रिय माविका पृथ्वी क्षेत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतीले सुचना प्रविधिप्रतिको लगाब तथा खोज तीब्र रुपमा देखिएको बताए । सुचना प्रविधिले नै गर्दा अहिलेको पुस्ताका विद्यार्थीहरु शिक्षक भन्दा बढि अपडेटेड हुन थालेको अध्यक्ष सुवेदीको तर्क रहेको थियो । शिक्षकलाई प्रविधिमैत्री बनाई शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले एक शिक्षक एक ल्यापटप, शैक्षिक सफट्वयर, विद्यार्थीसँग अध्यक्ष जस्ता कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।

यसका साथै प्रतियोगितामा सहभागिता जनाई प्रथम हुन सफल साकार बस्नेतले आइसिटीको बढ्दो उपयोगसँगै यसबाट सिर्जित हुन सक्ने नकरात्मक गतिवधीलाई रोक्न पनि शिक्षा आवश्यक रहेको बताए । आइसिटीको प्रयोगले नै शिक्षण सिकाईलाई प्रभावकारी, रोचक बनाउनुको साथै ज्ञानको दायरा फराकिलो बनाउने उनको भनाई थियो । त्यसैगरि द्वितीय स्थान हासिल गरेकी छात्रा अमृता गुरुङले आइसिटीले विश्वलाई साँघुरो कोठामा परिवर्तन गरेको बताउँदै वर्तमान युगमा सिक्ने, टिक्ने र बिक्ने शिक्षा नै आइसिटी शिक्षा रहेको बताइन् । परम्परागत तथा घोकन्ते पढाई शैलीलाई विस्थापित गर्न शिक्षकहरुले प्रविधीलाई आत्मसात गर्नुपर्नेमा तृतीय भएका छात्र सविन पौडेलको जोड थियो । यसका साथै सान्त्वना स्थान हासिल गरेका विद्यार्थी पृथ्वी क्षेत्रीले विकसित देशहरु सुचना प्रविधीकै कारण अब्बल स्थानमा रहेको भन्दै नेपालमा पनि आइटी प्रविधीलाई विस्तार गर्नुको विकल्प नरहेको बताए ।

कार्यक्रमका सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सुचना प्रविधिमा विधामा गरेको प्रयासले आफूहरु धेरै लाभाविन्त भएको बताएका थिए ।

विद्यालयमा दक्ष आइटी शिक्षकको व्यवस्था, इन्टरनेट तथा ई–लाइब्रेरीको पहुँचले शिक्षण सिकाइमा उल्लेखनिय सुधार भएको तर्क गरेका थिए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।