चुनावका बेला ३ दिन विदाको सिफारिस

पोखरा, कात्तिक २८ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर शनिबार पर्छ ।

केही दिनअघि नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो । निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।