स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी

पोखरा, असोज ५ ।
पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षण सिकाइका क्रियाकलाप पूर्ववत्रुपमा नियमित सञ्चालन गर्न निर्देशन दिएका छन् ।

महानगरपालिकार्फबाट नगरप्रमुख धनराज आचार्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई बिना अवरोध पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न तथा विद्यालयमा नियमित पठनपाठन गराउन सरोकारवाला सबैमा निर्देशन दिएका हुन् ।

संघीय संसदमा दर्ता संघीय शिक्षा ऐन २०८० प्रति सहमति जनाउँदै शिक्षकहरुको घोषित आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयका पठनपाठन यतिबेला ठप्प भएको छ ।

‘शिक्षकहरुले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राख्नुभएको कतिपय मागप्रति स्थानीय सरकारका नाताले पोखरा महानगर संवेदनशील छ,’ महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि विद्यालयको नियमित पाठनपाठन तथा सिकाइ क्रियाकलाप अबरुद्ध हुने गरी आन्दोलन अघि बढाउँदा विद्यार्थीको निर्वाध शिक्षा हासिल गर्न पाउने नैंसर्गिक अधिकार हनन हुन पुगेको छ ।’