‘साग’मा सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बिमा

 

काठमाडौं, मंसिर ९ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बिमा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सचिवालय तथा १३औं साग आयोजक समितिले सोमबार बिमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

खेलका दौरान हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै राखेपले आइएमईसँग वैदेशिक खेलकर्मी तथा अरु वैदेशिक पदाधिकारीहरुका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँको बिमा गरेको हो । सम्झौतासँगै सागको बिमा प्रायोजक आइएमई रहनेछ ।

सागमा नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको छ ।

नेपाली खेलाडीहरुको हकमा भने १० लाख रुपैयाँको बिमा यसअघि नै सम्झौता गरिसकिएको सदस्यसचिव सिलवालले बताए ।(ईमेजखबरबाट साभार)