सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत

पोखरा, भदौ ३० ।
सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार नेपाललाई क्लबको २० आंैं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले प्रदान गरेकी हुन् ।

पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ छ । पुरस्कृत पत्रकार नेपालले पुरस्कारले थप हौसला प्रदान गरेको बताउँदै राज्यले खेल क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल आदर्श समाज दैनिकमा कार्यरत छन् ।

सहारा क्लबले २०६३ सालबाट सुरु गरेको पुरस्कार क्लबको वार्षिकोत्सवका अवसरमा हालसम्म १२ जना पत्रकार सम्मानित भईसकेका छन् । पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणी बराल, एमबी आस्था र सुरज श्रेष्ठ सम्मानित भएका छन् ।

सोही अवसरमा क्लबले उत्कृष्ट सदस्यबाट कविता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ ।