‘वुमन्स च्याम्पियन्स लिग’को ट्रफी सार्वजनिक

 

काठमाडौं, असोज २९ ।

‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको छ ।

असोज २९ देखि कात्तिक ७ गतेसम्म सन्चालन हुने उक्त प्रतियोगिताको विजेताले पाउने ट्रफी काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा विभिन्न पाँच सहरका पाँच टोली सहभागी हुनेछन् । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज् र विराटनगर टाइन्ट्सले प्रतियोगिता खेल्लेछन् ।

‘राउन्ड रोबिन’को आधारमा हुने उक्त प्रतियोगितामा सहभागी सबै टोलीले एकार्कासँग खेल्नेछन् ।

शीर्ष स्थानमा पुग्ने टोली स्वतः फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नुपर्नेछ ।

यस्तै, अन्तिम स्थानमा रहने दुई टोली समूह चरणबाटै बाहिरिनेछन् ।

प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्धक छुम्बी लामाले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एकथान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

बुधबार उद्घाटन खेल क्याट क्विन्स काठमाडौं र चितवन राइनोज्बीच कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा हुनेछ । (रासस)