राहत शिक्षकलाई स्वतः स्थायी नबनाउने : मन्त्री पोखरेल

 

काठमाडौं, पुस ७ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् ।

नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिए ।

त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताए ।

उनले भने, “सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।”

मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताए ।

मन्त्री पोखरेलले नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताए । मोलुङ गाउँपालिका–४ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले संस्कारलाई समय अनुकूल परिवर्तन गरी अगाडि बढ्नुपर्नेमा समेत जोड दिए ।

हिन्दू संस्कार नमान्ने भन्दै नेता पेशल खतिवडाले बुबाको काजकिरिया गरेनन् । हिन्दू संस्कारको विरुद्धमा विद्रोह गरेर स्व खतिवडाका छोरा पेशल खतिवडाले सांस्कृतिक क्रान्तिको शुरुआत गरेको मन्त्री पोख्रेलले बताए ।

स्व मनोरथ २०१८ देखि २०२६ सालसम्म प्रधानपञ्च बनेका थिए । उनी जीवन प्रदीप मावि हर्कपुरमा संस्थापक अध्यक्ष, बरुणेश्वर माविका संस्थापक एवम् चन्दादातासमेत हुन् ।

स्व खतिवडाका चार छोरामध्ये जेठो दीपप्रसादको मृत्यु भइसकेको छ भने साइला नरेन्द्र र कान्छा सुरेन्द्र क्रियाकर्ममा बसेका छन् । (रासस)