राजीनामा दिएका पारस खड्काले युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने

 

काठमाडौं, कार्तिक ८ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्काले अर्को महिना युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् ।

पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ ।

टि–टेन लिग यही नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ । यसमा विभिन्न ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

१० ओभरको यो प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो । भारतको टि टेन स्पोर्ट्स मेनेजमेन्टले आयोजना गर्ने प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

टि–टेन लिगका लागि गत साता नै खेलाडीहरुको ड्राफ्ट सम्पन्न भएको थियो । पारसलाई भने टोलीले ड्राफ्ट अघि नै अनुबन्ध गरिसकेको बुझिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि–टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुन् । (ईमेजखबरबाट साभार)