भुपु विद्यार्थीले गरे विद्यालयलाई सहयोग

पोखरा, पुस २३ ।
कास्कीको मादी गाउँपालिका ८ पाखुरीकोट नागीधार स्थित प्रभात आधारभुत विद्यालयलाई भुपु विद्यार्थी कुलप्रसाद गुरुङले शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबुल लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नागिधार घर भई अमेरिका बस्दै आएका गुरुङले आँफै अध्ययन गरेको स्कुलमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अरुलाई पनि सहयोगका लागि उनको आग्रह छ । विद्यालयको सहयोगका लागि अमेरिकाको बाल्टिमोरमा च्यारिटि सो समेत गरेको गुरुङले बताए ।
गत २०७२ सालको भुकम्पले विद्यालयको भवन जोखिम अवस्थमा छ । जिल्ला शिक्षा कार्यालयले दुई पटक गरी ६ कोठे भवन निर्माण गरिदिएपछि केही सहज भएपनि भौतिक संरचना अझै अपुग भएको विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष लालदेवी घलेले बताईन् । सहयोग हस्तान्तरण कार्यक्रममा गोर्जे श्रोत केन्द्रका श्रोत ब्यक्ति बलराम पोख्रेलले विद्यालयका लागि जिल्ला शिक्षा कार्यालय, गाउँपालिका लगायत निकायमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । गुड नेवर्स ईन्टरनेसनलको सहयोगमा सञ्चालित नौलो घुम्ती नेपाल नामक गैरसरकारी संस्थाको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कास्कीको समन्वयमा विगत ३ वर्षअघि वालमैत्री विद्यालयको रुपमा स्थापित गरिएको प्रधानध्यापक चन्द्रकान्त अधिकारीले बताए ।
कार्यक्रममा विद्यालयका पूर्व प्रअ डम्बरजङ गुरुङ, पुर्व विब्यस अध्यक्ष तथा मिजुरेडाँडा गाविसका भुपु अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङ, भुपु विद्यार्थी तथा काँग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकाश गुरुङ, मादी ८ का वडाअध्यक्ष यामबहादुर गुरुङ, साविक मिजुरेडाँडा २ का भुपु अध्यक्ष चेतबहादुर गुरुङ लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सोही विद्यालयकी शिक्षक गन्जु गुरुङ्ले गरेकी थिईन् ।