बार्सिलोनाको नयाँ रेकर्ड

एजेन्सी, माघ २२ ।
स्पेनिस ला लिगाको शीर्ष टिम बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनालाई आइतबार राति भएको खेलमा स्पान्योलले १–१ गोलको बराबरीमा रोकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ मिनेटमा जेरार्ड मेरेनोले गोल गरेर घरेलु टिम इस्पान्योललाई अग्रता दिलाए । तर ८२ मिनेटमा डिफेन्डर जेरार्ड पिकेले बराबरी गोल फर्काउन सफल भए । उनले लिओनल मेसीको फ्रिकिकमा गोल गरेका थिए ।
बराबरीसँगै बार्सिलोनाले लिगमा रेकर्ड बनाएको छ। ला लिगाको सुरुवाती २२ खेलमा अपराजित रहँदै बार्सिलोनाले रेकर्ड बनाएको छ । ला लिगमा सिजनमा अपराजित बार्सिलोनाले १८ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ । लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको छ ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५८ अंक, दोस्रो स्थानको एट्लेटिकोको ४९ र तेस्रो स्थनको भ्यालेन्सियाको ४० अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ३९ अंक छ ।