बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण

 

काठमाडौं, मंसिर २३ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्णपदक जितेको छ ।

सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्णपदक दिलाएकी हुन् ।

उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि, नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौं सागमा बक्सिङतर्फ दुईओटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ ओटा स्वर्णपदक जितेको थियो ।

त्यसैगरी, महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले रजतपदक हात पारिन् । उनी भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पारेकी हुन् ।

योसँगै १३औं सागमा नेपालको स्वर्णपदक ४६ पुगेको छ । (रासस)