पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै

पोखरा, ३० चैत

पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोेखरा–१०, रामघाटको आयोजनामा आगामी बैशाख ६ गतेदेखि अम्मरसिंह खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशिको पुरस्कार नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने क्लवद्वारा बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने पनि सो अवसरमा जानकारी दिइयो ।

क्लवका अध्यक्ष रोशन गुरुङ्गका हजुरआमा स्व.विष्णुकुमारी गुरुङ्गको स्मृतीमा उहाँकै नामबाट यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता प्रदान गरिने क्लवका उपाध्यक्ष तुलबहादुर गुरुङ्गले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा झण्डै ५० क्लवको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

क्लवका सह–सचिव शिवानी कुँवरले सञ्चालन गरेको कार्यक्रममा क्लवका कोषाध्यक्ष सौरभ थापा, प्रतियोगिता संयोजक अशोक न्यौपाने, क्लवका सदस्य निर्देश गुरुङ्ग लगायतले प्रतियोगिताका बारेमा अवगत गराएका थिए । प्रतियोगिताबाट करिब २ लाख बचत हुने र, बचत रकमबाट रामघाटमा फुटबल एकेडेमिको शुरुवात गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।