पोखरामा आठौं क्यान इन्फोटेक मेला फागुन ४ बाट

पोखरा, माघ १३ ।
कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघ कास्कीले आगामी फागुन ४ देखि ८ गतेसम्म आठौँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै क्यान कास्कीले मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म चल्ने जानकारी दियो । सो मेलामा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धमा भएका अत्याधुनिक एवं नवीनतम प्रविधिका बारेमा जानकारी दिइने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए ।
अध्यक्ष पौडेलका अनुसार मेलाको आकर्षणका रुपमा बृहत् सूचना प्रविधि तथा यस क्षेत्रमा स्थानीयस्तरमा गरिएका उत्पादनको प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा लगायत कार्यक्रमहरु रहनेछन् । सूचना प्रविधिसँग सम्बन्धित १ सय २० स्टल रहने मेलामा नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्रीसमेत गरिनेछ । मेलाको तयारी गर्न अध्यक्ष पौडेलको संयोजकत्वमा २७ उपसमिति गठन गरिएको छ ।