नेपालीले लगाउने भित्रि बस्त्र कति महंगा ?

एजेन्सी, भदौ २९ ।
सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्छन् । अन्डरवेयरको नेपाली बजार र सेलेब्रेटीहरूको रोजाइबारेको रिपोर्ट ।
१० हजारसम्मको ब्रा
नेपाली महिलाहरूले एक सयदेखि १० हजारसम्मको ब्रा प्रयोग गर्छन् । पछिल्लो समयमा टिनएजर्सका युवतीको रोजाइमा पुसअप ब्रा पर्ने गरेको न्युरोडस्थित मणिक टेलर्सकी कर्मचारी आस्था तिमल्सिनाले बताइन् । पुसअप ब्रामा भएको फर्मले स्तनलाई आकर्षक देखाउने हुँदा टिनएजर्स युवतीको रोजाइमा पर्ने गरेको उनी बताउँछिन् । त्यस्तै, विवाह भएका महिलाले ननपुसअप ब्रा रोज्ने गरेका छन् । अन्तर्राष्ट्रियस्तरको भिक्टोरिया सेक्रेट ब्रान्डको ब्राको मूल्य १० हजारसम्म पर्ने गर्छ । थोरै पसलहरूले मात्र ब्रान्डेड ब्रा बिक्रि गर्दछन् ।
नेपालमा दुई हजार पाँच सयसम्मको अन्डरवेयर
नेपालमा सयदेखि पाँच हजारसम्मका अन्डरवेयर पाइन्छ । लिभाइज ब्रान्डअन्तर्गतको अन्डरवेयरको मूल्य नेपाली बजारमा दुई हजार पाँच सयसम्म पर्ने गर्छ । बिइङ ह्युमन नामक भारतीय ब्रान्डको पुरुषले प्रयोग गर्ने अन्डरवेयर नेपालमा पाइन्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादे सेलेब्रिटी तथा धनाढ्यहरूले सबैभन्दा महँगो मूल्यको अन्डरवेयर रोज्ने गरेको बताउँछन् ।
तर, नायक अनमोल केसी भने आफूले नेपालमा पाइने कुनै पनि ब्रान्डको अन्डरवेयर प्रयोग नगर्ने बताउँछन् । भन्छन्, ‘मलाई टमी हिलफिगर ब्रायडको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाउने भएकाले विदेश गएका वेलामा उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु ।’ अनमोलजस्तै धेरै नायक–नायिकाले विदेश गएकै वेला अन्डरवेयर किनेर ल्याउने गर्छन् ।
गायिका तथा नेतृ कोमल वली पनि आफूले विदेशबाटै अन्डरवेयर खरिद गर्ने बताउँछिन् । भन्छिन्, ‘मैले प्रायः भित्री वस्त्रहरू विदेशतिर जाँदा किन्ने गरेकी छु । ब्रान्ड हेरेर दुई हजारदेखि आठ हजार मूल्यसम्मको किन्ने गर्छु ।’ कोमलले प्रयोग गर्ने केही ब्रान्डहरू नेपालमा नपाइनेसमेत छन् । अन्य सेलेब्रिटी भने पाँच सयदेखि १५ सयसम्मको अन्डरवेयर प्रयोग गर्छन् । नेपाली बजारमा पाँच हजार रुपैयाँसम्मका अन्डरवेयर बिक्री हुन्छ ।
नेपालमा उपलब्ध ब्रान्ड र मूल्य
जक्की-जक्की अमेरिकन ब्रान्ड हो । जक्की ब्रान्डअन्तर्गत विशेषगरी भित्री वस्त्रहरू पाइन्छन् । यो ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने ब्राको मूल्य एक हजारदेखि दुई हजार आठ सयसम्म पर्ने दरबारमार्गस्थित जक्की सोरुमका सञ्चालक नवनीत गुप्ताले बताए ।
त्यस्तै, महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य तीन सय ५० देखि ७ सय ५० र पुरुषले प्रयोग गर्ने अन्डरवेयर तीन सय ५० देखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

भिक्टोरिया– सेक्रेटस् यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत विशेषगरी इनर वेयर पाइन्छन् । भिक्टोरियाले हरेक वर्ष विभिन्न ब्रान्डका कपडा बजारमा ल्याउने गरेको छ । यसमा महिलाले प्रयोग गर्ने ब्रा विश्व बजारमा धेरै महँगा छन् । तर, नेपालमा २ हजारदेखि १० हजार रुपैयाँसम्ममा पाइन्छ । यस ब्रान्डका भित्री वस्त्र धेरैजसो फेसन स्टाइलिस तथा चुजी युवती र धनाढ्य परिवारका महिलाले किन्ने गरेका छन् । यो नेपालमा उपलब्धमध्ये सबैभन्दा महँगो ब्रान्ड हो ।
यस ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि दुई हजारसम्म पर्छ ।
रिबक- यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डमा विशेषगरी सबै स्पोर्टस्का कपडा पाइन्छन् । यसअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जसको मूल्य तीन हजार दुई सय ९० देखि ७ हजार पाँच सय ९० सम्म पर्ने दरमार्गस्थित रिबुक सोरुमका कर्मचारी सुवास महर्जन बताउँछन् । यो ब्रान्डअन्तर्गत स्पोर्टस् ट्राउजर पनि पाइन्छ । जसको मूल्य तीन हजार ८ सय ९० देखि ८ हजार ९ सय ९० सम्म पर्छ । रिबक ब्रान्डको कपडा धेरैजसो योगा, टे«ेनिङ र स्पोर्टस्मा संलग्न मानिसले प्रयोग गर्छन् ।
एडिडासस् यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् । यसमा महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन ब्रा चार हजार ९० देखि ६ हजार एक सय ९० रुपैयाँसम्ममा बिक्री हुने दरबारमार्गस्थित एडिडास सोरुमकी कर्मचारी अविका श्रेष्ठले बताइन् ।

बिविच- बिविच ब्रान्डअन्तर्गत ब्राको मूल्य एक हजार आठ सयदेखि ६ हजार २ सयसम्म पर्छ । त्यस्तै, यही ब्रान्डको अन्डरवेयर एक हजारदेखि एक हजार आठ सयसम्ममा बिक्री हुन्छ ।

जुलियट- यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । जसको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाले प्रयोग गर्ने अन्डरवेयर २ सय ५० देखि ८ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।
जिन्ताना स् यो थाइल्यान्डको ब्रान्ड हो । यो पनि विवाहित महिलाले धेरै रुचाउँछन् । नेपालमा यस ब्रान्डका भित्री वस्त्र दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ ।

सफ्ट प्रिन्सेस- यो थाइल्यान्डको ब्रान्ड हो । यस ब्रान्डअन्तर्गतको ब्रा विशेषगरी विवाहित र अविवाहित महिलाले, स्टाइलिस र मोडलहरूले प्रयोग गर्छन् । यसअन्तर्गतको ब्रा नेपालमा पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ ।
यस ब्रान्डअन्तर्गतको पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाँच सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुन्छ । यो ब्रान्डमा ट्राउजर, ज्याकेट, टिसर्टलगायतका कपडा पनि उपलब्ध छन् ।

इनामोर- यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । यसअन्तर्गत ब्राको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाको अन्डरवेयर पनि पाइन्छ । जसको मूल्य २५० देखि ८ सयसम्म पर्छ ।

डेसिडी- यो पनि इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा पनि धेरैजसो विवाहित महिलाले नै प्रयोग गर्छन् । यस ब्रान्डका ब्राको मूल्य ५ सयदेखि १५ सयसम्म पर्छ । यस ब्रान्डमा महिलाको अन्डरवेयर नेपाली बजारमा २ सय ५० देखि ८ सय ५० रुपैयाँसम्म बिक्री हुने गर्छ ।

बिइङ ह्युमन- यो इन्डियन ब्रान्ड हो । यसमा पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाइन्छ । जसको मूल्य एक हजारदेखि २ हजार ५ सयसम्म पिर्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादेका अनुसार यो ब्रान्डको कपडा शतप्रतिशत कटनबाट बनेको हुन्छ । नेपाली सेलेब्रिटी तथा मध्यमवर्गीय मानिसले यस ब्रान्डका भित्री वस्त्र खरिद गर्दैै आएका छन्

बेनिटन- यो इटालियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत पुरुषका लागि अन्डरवेयर तीन सय ९९ देखि ९ सय ९९ रुपैयाँसम्म पर्ने गर्छ । त्यस्तै, महिलाको अन्डरवेयर एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म बिक्री हुने दरबारमार्गस्थित युनाइटेड कलर्स अफ बेनिटनका कर्मचारी सुसन महर्जन बताउँछन् ।

एन्टा- एन्टा ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन चार हजार एक सय ४० रुपैयाँसम्ममा बिक्री हुन्छ । यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् ।

लिभाइज- लिभाइज ब्रान्डअन्तर्गत पुरुषले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि २ हजारसम्म पर्छ ।