स्पेनमा कोरोना महामारी र नेपालीको अवस्था

सुन्दरी लामा शाक्य
म्याड्रिड (स्पेन), जेठ १ ।
३१ जनवरी महिनामा देखिएको पहिलो कोभिड १९ संक्रमितको तथ्यांक मार्च अनि अप्रिल महिनाहरूमा महामारीको रूप हुँदै आजको मितिसम्ममा आईपुग्दा २२८६९१ जना पुगिसकेको छ । यो तथ्याङ्कले स्पेन संसारको दोस्रो बढि सक्रमित भएको देशमा देखाउँछ । मृत्यु संख्या सबैभन्दा बढी दिनमा ९०० भन्दा बढी पुगेपनि अहिले त्यो सुधार हुँदै आएको छ । पछिल्लो २४ घण्टामा मृत्यु संख्या १८४ सँगै कुल जम्मा २७१०४ पुगेको छ ।

सकारात्मक पक्ष भनेको हालसम्म निको हुनेहरुको संख्या १४०८२३ पुगिसकेको छ । यो निकै राम्रो समाचार हो । नेपालीहरू अहिले कोही नयाँ संक्रमित भएको पुष्टि भएको छैन भने कातालुन्याका १२ जना नेपालीहरू निको भैसकेका छन् । स्पेनमा कोभिड १९ को सबैभन्दा बढी संक्रमित राजधानी म्याड्रिडमा छन् । जहाँ ६४७९२ पुगेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः कातालुन्या ५५१४४ तथा कास्तिज्या इलेओन १८०४८ छन् ।

संसारमै स्वास्थ्य सेवा राम्रो मानिने देशहरु मध्य स्पेन अग्र पंक्तिमा मानिन्छ । तर कोभिड १९ को महामारी को बेला रातदिन खतिएका स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यान गुमाइसकेका छन् भने संक्रमित संख्या करीब २०% भन्दा बढी छन् । जुन दुखद पक्ष हो । जुन संसारमै पहिलो देश बनेको छ । जबकि ईटाली र अमेरिका जस्तो देशहरूमा  त्याे भन्दा धेरै न्यून छ ।

सुरक्षित रहनुहोस्, अनि केही समस्या परे एक अर्कालाई भन्नुहोस् । सहयोग, परामर्श लिनुहोस् दिनुहोस्, यसबाट न कसैलाई हानी नोक्सानी हुन्छ, न कसैको मानसम्मानमा कमि आउँछ । समस्याहरू लुकाएर राख्ने हो भने समाधान के हो भनेर कहिल्यै पत्ता लाग्दैन । कोरोनाको प्रकोपले गर्दा हामी प्रवासी नेपालीहरूले भोग्नुपरेको समस्याहरू धेरै छन् । समुदायमा समस्या आईसकेपछि सबै एकजुट भई सहकार्य, सहयोग अनि सहमतिको सट्टा संस्थागत, राजनीतिक, धार्मिक तथा आफन्तबाद अनि ब्यक्तिगत होडबाजी हुनु कडापी राम्रो होइन ।

यस्ता कारणबाट हामी सबै पीडित हुनुपर्ने अवस्थामा छौं र संघ संस्था तथा ब्यक्ति बिशेषमा समेत कस्तो छाप पर्न सक्छ बेलैमा सोचौं । यो महामारी फैलिरहेको बेलामा लकडाउनमा तपाईँ हामी सबैलाई ठूलो चिन्ता छ कि अर्को दिन, हप्ता, महिना के गर्ने, के खाने कसरी परिवार पाल्ने ? कहाँ जाने, कसले सहयोग गर्छ ? स्थिति नाजुक छ । कोहि लाजले, कोहि डरले, कोही उचित सूचनाको कमीले, कोही भाषाको कठिनाइ आदि इत्यादि कारणहरूले गर्दा सहयोग अनि राहतबाट पनि छुटेका या छुटाईएको छ ।

एउटै घरको एउटा कोठामा बस्नेले आफन्तबाद र जातिबाद देखायर आफ्नाले जसरी मिलाएर राहत पाएको छ । त्यही घरमा बस्नेले पाएको छैन । केही दालचामल, नुन, तेल, चिनि आदि दिएर सामाजिक सञ्जालहरूमा सूचना, समाचार फोटोहरूको विगविगी पनि देखेकै हो । घर घरमा बसेर फेसबुक लाईभ गर्ने, ग्रुप च्याट गर्नेको कमी छैन । तर आफ्नो टोलमा राहत वितरण हुँदा पनि सहयोगका लागि नजानेहरु वा कुनै चासो नदेखाउनेहरु धेरै छन् ।

सहयोग मानवता, नैतिकता र आ–आफ्नो समाज, देश साथै नेपालीहरूमा गर्नुपर्ने कर्तव्य निर्वाह गर्नु अहिलेको मुख्य आवश्यक्ता हो । यस्तै बेलामा हो हामीलाई कमी महसुस हुने, जहाँ एउटा सानो युवा टोली होस, सानो काम होस तर छिटोछरितो, सरल एबं ढिलासुस्ति नगरी सेवा पुर्याउने र त्यहा सबैको एउटै उद्देश्य होस््, निस्वार्थ सेवा । एकजुट अनि एक अर्का प्रति सम्मान र मायाको । सबैजना बराबर ।

स्पेनमा हाम्रो समस्याहरू भनेको अहिले स्वास्थ्य सम्बन्धी सूचना र जानकारी पाउन सकेको छैन । बल्ल यूरोपका अरू देशहरूका पहलमा एउटा सानो टोली बनेको छ, जसलाई सबै नेपालीहरूले सकारात्मक रूपमा लिएका छन् । यो एउटा राम्रो सुरुआत भएको छ, किनकी यसबाट सेवा पाउने नेपालीहरू नै हुन् ।

२ महिना भन्दा बढी भयो घरमा थुनिएको । अझै कति लम्बिन्छ ठेगान छैन । कुनै योजनाको तयारी कतै देखिएको छैन । नेपालीहरु जम्मा चन्दा उठाउने काममा मात्रै ब्यस्त छन् । अब त लकडाउन खुलेपछि के गर्दा नेपालीहरूलाई सहयोग गर्न सकिन्छ ताकी कसैले आफ्नो जागिर, काम या गरी खाने ब्यक्तिगत ब्यबसाय गुमाउन नपरोस् भनेर पो सोच्नुपर्ने हो ।

पर्यटन ब्यबसाय देखी होटल रेस्टुरेन्ट ब्यबसाय, नेपाली हस्तकला सामानहरूको पसल लगायत अन्य कामहरु पनि स्पेनको अर्थतन्त्रसँगै पूर्ण रुपमा धरासायी हुने पक्कापक्की छ । यहाँ कागजपत्र भएकाहरुलाई पनि साहूहरुले ERTE सुबिधा (स्पेनिस सरकारले लकडाउन को बेला जागिर गुमाउन पर्दा तलबको ७०% पैसा पाउने सुविधा) नदिएर दुख दिएका छन् ।

पारो अफिस बन्द छ । आफ्नो खेस्तोर (कानुनी लेखापढी या वकील) छैन । वकिल खोजेपनि निशुल्क कसैले काम गरिदिँदैन । सरकार को डिजीटल अनलाइन सुविधा छ । तर कसरी सेवा लिने हामीलाई ज्ञान छैन । भाषा बुझ्न कठिन छ । कसलाई सम्पर्क गर्ने थाहा छैन । पीडितहरु डरमा छन् । यस्ता पीडितहरुलाई कसरी सहयोग गर्न सकिन्छ ? हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।

गलत हुँदा नि शोषण को बिरूद ऊठाएको आवाज आफ्नो फाइदाको लागि दबाउन लगाइन्छ । त्यो त्यत्तिकै हराएर जान्छ । अब कहिले सम्म चुप बस्ने ? नयाँ सानो ब्यबसाय गरि अटोनोमा सानो ब्यबसाय गर्नेहरू, जसलाई भाषा र कानुनी व्यवस्था बुझाउँदै सरकारी सुविधा लिने तरिकाबारे जानकारी गराउनुपर्छ । डेरामा बस्ने दिदिबहिनी र दाजुभाइहरुलाई घरबाट निस्किन दवाव दिएको छ । जसका कारण उनीहरुलाई पीडामाथी झन् पीडा थपिएको छ ।

काम छैन, आम्दानी पनि छैन । पीडा कसलाई भन्ने ? कतै कोहि सहयोग गर्न सक्नुहुन्छ ? पेपर छैन, लाजले राहत नि लिन मान्दैनन् । पासपोर्टको फोटोकपी माग्छ । बैंक खाता माग्छ, रेकर्डको लागि भनेर । के हप्तादिन खानेकुराको लागि यति सबै गर्नु जरुरी छ ?

पासपोर्ट को फोटोकपी ठूलो कि भोक ठूलो भनेर चुपचाप राहत लिए । बुझ्नेहरुले भोक सहेर पनि फोटोकपी दिन मानेनन् । बैंक खाता नहुनेहरुले साथीभाइको मागेर राहत लिए । संघ संंस्थाले यो सबै बुझेको छ । तर दुख बुझ्न सकेन । आगामी दिनमा कसैले राहत दिने हो भने सहज वातावरण बनाउनुपर्छ । नाम, ठेगाना, फोन नम्बर टिपेर राहत दिने ब्यवस्था मिलाउनुपर्छ । राहतको नाममा पासपोर्ट अनि बैंक खाता जस्तो संबेदनसिल डाटा नमाग्दा राम्रो हुन्छ ।

यो त चुनावको लागि एउटा तथ्याङ्क सङ्कलन गरेको जस्तो भएको छ । कसैलाई मर्का परेर दाल चामल भन्दा अरु सामान खरिद गर्न पनि पाउनुपर्ने ब्यवस्था गरिदिऔं । धेरै गुनासाहरु आएका छन् । अमेरिकाबाट एनआरएनए उपाध्यक्ष रबीना थापा जी को पहलमा हेलपीङ ह्याण्ड समुह अनि सबै देशका सहयोगबाट यहाँ धेरै नेपाली पिडित हरुले प्रति ब्यक्ति २५.५० यूरो सहयोग पाएका छन् । म सबैलाई धन्यवाद दिन चाहान्छु ।

महामारीको जोखिम उठाएर लकडाउनको कडा चुनौति सहेरै भएपनि पहिलो आकस्मिक सहयोग सहि समयमै पुराई दिने हाम्रो स्पेनको सबैजनालाई नमन छ । सहयोग भन्ने आबस्यक परेको बेला तुरुन्तै सजिलो तरिकाले पाउनुपर्छ । स्पेनमा नयाँ पेपर कुरेर बसिरहेकाहरु र डकुमेण्ट जारी मिति गरेकाहरू अनि डकुमेण्ट जारीमिति सकिएकाहरुलाई जानकारीमुलक सुचना आदान प्रदान गरेर पनि सहयोग गर्न सकिन्छ ।

केही ब्यक्तिहरुमा भाषाको पनि ठूलो समस्या छ । अहिले अर्को समस्या, विद्यार्थीहरु पनि हुनुहुन्छ । जसको काम पनि छुट्यो भने भएको पैसा समेत खर्च भएर सकियो । नेपालबाट यस्तो अवस्थामा पैसा मगाउन सकिँदैन । उनीहरुले नेपाली संघ संस्थाहरु पनि चिनेका छैनन् ।

यि त खाली केही उदाहरणहरू मात्रै हो । केहीका लागि भने यो निकै ठूलो समस्या पनि हो । हाम्रो समस्या पहिचान त भयो तर केही समाधान छैन । हाम्रो दायित्व भनेको अब हातेमालो गर्दै समाधान खोज्नुपर्यो या खोज्न लगाउन सबैलाई घच्घच्याउने हो । समय र परिवेश अनुसार सबैको माग यही छ । सक्छौं सहयोग र सहकार्य गरौं, सक्दैनौं सहयोगी हातलहरुलाई धन्यवाद दिन सिकौं ।

नेपालमा के गर्ने ?

जबसम्म कोरोना संक्रमित संख्या न्यून हुँदैन तबसम्म सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गरौं । कोरोना बाट बँच्न सकेसम्म घरमै बसौँ । बाहिर आकस्मिक रूपमा जानैपर्ने अबस्थामा कम्तिमा २ मिटर लामो दूरीमा एक अर्कालाई राख्नुहोला । बाहिर जाँदा अनिवार्य रुपमा मास्कले नाक मुख ढाक्नुहोला । मास्क लगाई सकेपछि मास्कलाई सकेसम्म फेरि हातले छिनछिनमा नछुनुहोस् ।

घर बाहिर जानु अघि मास्क लगाउनु अघि र घर फर्किसकेपछि मास्क फुकाल्न अघि साबुनले राम्रोसँग हात धुनुहोस् । नाक, मुख र आँखामा सकेसम्म हातले छोइरहने बानी हटाउनुहोस् । बाहिर जाँदा पन्जा प्रयोग गर्नुहोस् । मुटु सम्बन्धी रोग, डाइबिटिज, क्यान्सर रोग भएका ब्यक्तिहरु, रोग प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरू, गर्भवती महिलाहरू, ज्येष्ठ नागरिकहरू, साथै बालबालिका आदिहरु लाई बिशेष ध्यानमा राखौ ।

तपाईँ हामी कोही कोभिड १९ बाट संक्रमित भए नलुकाउनु होला । सावधानीका साथ तुरुन्तै अस्पताल जाऔं । ज्वरो आउने, घाँटि दुख्ने, खानाको सुगन्ध अनि स्वाद थाहा नपाउने, दिशा पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने साथै पुरै शरीर बेस्सरी दुख्नु कोरोनाका लक्षणहरु हुन् । कोरोना लाग्दैमा मान्छे मर्दैन र सामान्य कोरोनाको लक्षण देखिने वित्तिकै उपचार गरेमा पूरै निको हुन्छ ।

तपाईहरू कोही बिरामी परेर पनि डराएर वा कुनै समस्याको कारणले अप्ठेरोमा हुनुहुन्छ भने चिन्ने स्वास्थ्यकर्मी अनि संघसंस्थाहरूको प्रतिनिधिहरूसँग ब्यक्तिगत रुपमा सम्पर्क गर्नुहोस् । आफु पनि बचौं, अरूलाई पनि बचाऔं ।