सबै पोखरेलीको भान्छामा पुगेको छु, गृहलक्ष्मी ग्याँसलाई हेरेर भोट दिनुहुनेछः बर्तौला

पोखरा, पुस १८ ।
धर्मराज बर्तौला खासै चल्तिको नाम होईन । उनको नाम केहिले सुनेपनि गृहलक्ष्मी ग्याँसको नाम गण्डकी प्रदेशभरी प्रशिद्ध छ । बर्तौला त्यही ग्याँस कम्पनीका अध्यक्ष हुन्, जुन नाकाबन्दीको समयमा पनि निकै दुख र कष्टका बीच उपभोक्तालाई ग्याँसको जोहो गरिदिए । एक हिसावले भन्ने हो भने, अहिले उनी आम पोखरेलीको घरका भान्साभान्सामा पुगेका छन् । विगत ३ दशकदेखि पेट्रोलियम र पर्यटनको क्षेत्रमा लागेका उनी पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसनमा उपमहासचिव पदका उम्मेदवार बनेका छन् । उनी पोखरामा गृहलक्ष्मी ग्याँस, धादिङमा त्रिवेणी ग्याँस उद्योग र गीता ग्याँस उद्योग, हेलि एयर पोखराका अध्यक्ष हुन् भने फिनोमेना रिसोर्ट मकवानपुर र डाँफे लजिष्टिक प्रालि नेपाल र भारतका अध्यक्ष हुन् । लायन्स क्लव हेटौंडा सिटीका सल्लाहकार बर्तौला नेपाल एलपी ग्याँस उद्योग संघका सचिव छन् । मानव सेवा आश्रमका अभिभावक र कोशी पेट्रोलियम डिलर्स एशोसियनका पुर्व अध्यक्ष भएर काम गरिसकेका छन् । प्रश्तुत छ, उनै बर्तौलासँग गरिएको कुराकानीमा आधारित उनका केही भोगाई र आगामी कार्ययोजनाः

मकवानपुर यसैपनि विकट जिल्ला हो । त्यसको पनि विकट गाउँमा जन्मिएको हुँ, जहाँ अहिलेपनि मोटरबाटो पुगेको छैन । बाल्यकाल गाउँमै पढेर हुर्किएँ । उच्च शिक्षाका लागि हेटौंडा झरें, व्यापार गर्ने हुटहुटी चल्यो । त्यसपछि पोखरातिर हानिएँ । २०३८ सालतिर म व्यवसायमा छिरेको हुँ । आर्थिक रुपमा कमजोर हाम्रो परिवारले लगानी पर्याप्त गर्न सक्ने अवस्था थिएन । बाधा अड्चन धेरै ब्यहोरेँ । कर्मथलो सुरुदेखि नै पोखरालाई बनाएँ । विस्तारै व्यवसायमा जम्दै अघि बढें ।
देशमा पटक पटक व्यवस्था फेरियो । छिमेकी मुलुकसँग राम्रो सम्बन्ध नहुँदा नाकाबन्दीको सामना गर्नुप¥यो । त्यस्तो विकराल अवस्थामा पनि चौतर्फी समन्वय गरेर मैले आफ्ना ग्राहक र उपभोक्तालाई सकेजति ग्याँस उपलब्ध गराएँ । गृहलक्ष्मी ग्याँस कम्पनी गण्डकीकै पहिलो उद्योग हो । सबैले माया गरेर हामीलाई साथ दिनुभएको छ । सबैलाई धन्यवाद दिनै पर्छ । कर्म गर्न आएको म पूर्ण रुपमा यतै बस्न थालिसकें, यो देन तपाईंहरु कै हो ।

जुन हिसावले गृहलक्ष्मीलाई तपाईंहरु माझ ल्याएको छु । त्यही पहिचानले मलाई चिन्नुभएको छ । हरेक उपभोक्ता र व्यवसायीका घरका भान्सा–भान्सामा पुगेको छु । मलाई नचिनेपनि गृहलक्ष्मी ग्याँसलाई चिन्नेहरुले एक पटक मलाई भोट दिनुहुनेछ भन्ने विश्वास छ । आम उपभोक्ताले गृहलक्ष्मी ग्याँसप्रति विश्वास गर्नुभएको छ । ०७२ सालको नाकाबन्दीमा पनि चौरमा राखेर ग्याँस बाढेको थियो भन्ने वहाँहरुलाई थाहा छ । वहाँहरु उद्योग वाणिज्य संघमा सदस्य हुनुहुन्छ । मैले गरेको सहयोगको गुन यसपालिको महाधिवेसनमा तिर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ । सबैको घरको चुलो, जटिल अवस्थामा पनि बालेको छु । तपाईंहरुकै बलबुताले, सहयोग सद्भावले यो ठाउँमा आईपुगेको हुँ । अझै धेरै सहयोगको अपेक्षा राखेको छु ।

नेपालभरिका उद्योग, व्यवसाय धरासायी भैसकेको छ । सरकारले त्यसलाई सम्बोधन गर्न सकेको छैन । सरकारले सहयोग गर्न सकेको छैन । व्यवसायी, उद्योगीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । म उपमहासचिव पदमा विजयी भएँ भने त्यो अवस्थाको अन्त्य गर्न पहल थाल्छु । उद्योगी, व्यवसायीहरुलाई कर कार्यालय, उद्योग विभागमा साह्रै झण्झट दिन्छन् । आधा घण्टामा हुने कामलाई दुई दिन लगाईदिन्छन् । म नितान्त निस्वार्थी भएर काम गर्छु । ति समस्या समाधानमा मेरो पहल रहन्छ । व्यवसायी, उद्योगीहरुले कर पनि तिर्नुपर्छ । हामीले नै कर तिर्न नसके देश चल्दैन । सरकारलाई कर नलगाउ भनेको छैन, तर कर तिर्ने वातावरण त सरकारले बनाईदिनै पर्छ नि । निश्वार्थ भावनाले कर तिर्ने वातावरण तयार हुनुपर्छ भन्ने मलाई लाग्छ ।

पोखरा सहर अव्यवस्थित छ । बाटाघाटा अव्यवस्थित छन् । साँघुरा सडक छन् । स्मार्ट सिटी बन्न सकेको छैन । यो पर्यटकीय सहर हो । विश्वका मान्छे हिमाल र ताल हेर्न आउँछन् । प्रकृतिसँग रमाउन आउँछन् । हावापानीसँग विश्व रमाएको छ । सुन्दरताका हिसावले विश्वको छुट्टै सहर हो, पोखरा । तर पोखरा किन आउने भन्ने प्रश्नको जवाफ सरकारसँग छैन । यसको अर्थ, नयाँ गन्तब्यको खोजी गरेको छैन । पूर्वाधार राम्रो छैन । लगानीमैत्री वातावरण छैन । यस्ता किसिमका नीति निर्माणमा सरकारलाई म सघाउँछु । म आफ्नो पहिचानको संरक्षण गर्दै पोखराको विकास र उन्नतीमा निश्वार्थी भएर लाग्ने छु ।

संघ आशिर्वादले चलेको छ

मलाई उद्योग वाणिज्य संघ आशिर्बादले चलेजस्तो लाग्यो । २–४ जनाले जसलाई निर्वाचित गर्न चाह्यो, उही जित्ने । राम्रा भएपनि कतिपय मान्छेहरु ति २–४ जनाको नजरमा परेन भने पराजीत हुने रहेछन् । अव त्यो अन्त्य हुनुपर्छ । समग्र व्यवसायीको हितको लागि सक्षम नेतृत्व दिनुपर्छ । त्यसमा सबैले सहयोग गर्नुपर्छ । राम्रा व्यक्तिलाई नेतृत्वमा पु¥याउने हो भन्ने विश्वास र धारणा मतदातामा रह्यो भने मात्रै संस्थाले सक्षम व्यक्ति पाउँछ । त्यसले मात्रै व्यवसायी र उद्योगीका समस्या समाधान गर्छ सक्छ । मेरो प्यानलले राम्रा मान्छेलाई अघि सारेको छ । उद्योग वाणिज्य संघको सदस्य छु भन्नका लागि मात्रै होईन, जुझारु रुपमा काम गर्ने उम्मेद्वार तयार गरेका छौं । त्यही जगमा चुनाव जित्ने दृढ विस्वास छ ।

पहिलो पटक महिला नेतृत्व

संसारमा मान्छेका जात छैनन् । महिला र पुरुष दुई जात हुन् । खुशीको कुरा, यसपाली पोखरा उद्योग वाणिज्य संघले पहिलो पटक महिला नेतृत्व पाउँदै छ । समानता र महिला अधिकारका चर्का नारामात्रै घन्किन्छ तर निर्णायक तहमा महिलालाई जान दिईदैन । हामीले महिलालाई अघि सारेर उहाँको नेतृत्वमा कार्यसमितिमा रहेर काम गर्न ईच्छा देखाएका छौं । यो निकै ठूलो क्रान्ति हो भन्ने लाग्दैन तर सुधारको प्रयास चाहिँ पक्कै हो ।

महिलाले पनि पुरुष सरह काम गर्न सक्नुहुन्छ । तर अघि बढ्नुस भनेर पुरुषले सघाउनुपर्छ । महिलाहरु अनुशासनमा काम गर्नुहुन्छ । पुरुषहरु पितृसत्तात्मक सोंचलाई परिवर्तन गर्न सकेका छैनन्, जसले महिलाप्रति विश्वास छैन । पुरुषले गाडी चलाउन सक्छ भने महिलाले किन नसक्ने ? म कयौं राष्ट्र पुग्दा महिलाले ठूलाठूला गाडी चलाएको देखेको छु । तर नेपालमा त्यो सुरक्षा र हौसला छैन । त्यही विभेदविरुद्ध हामी जुध्नु छ । यसपाली पोखराले त्यो मानक राख्छ भन्ने मेरो विश्वास छ ।

मानसिकता विभाजन भएको छैन

धेरै ब्यक्तिहरु आफ्ना प्रतिश्पर्धी उम्मेदवारलाई जिन्दगीभर शत्रु ठान्छन् । तर मसँग त्यो धारणा छैन । अहिले चुनावमा फरक हिसावले प्रतिश्पर्धामा रहेपनि २६ गतेदेखि पुरानै भातृत्व र समभाव रहन्छ । चुनावमा मात्रै फरक भएका छौं । उपस्थिति मात्रै फरक हो । हाम्रो भावना उही छ । आम मतदाताले जसलाई पत्याएर नेतृत्वमा पु¥याउनुहुन्छ वहाँहरुले संस्थाका लागि काम गर्नुहुन्छ । विजयी नहुनेहरुले पनि उद्योग वाणिज्य संघलाई आफ्नै घर ठानेर योगदान गर्नुहुने छ । जितेकाहरुलाई सहयोग गर्नुहुने छ । २६ गते चुनावको नतिजा आईसकेपछि हाम्रो सम्बन्ध हिजो जे थियो भोलि पनि त्यही रहन्छ । चुनिएर आएकाहरुसँग पराजीतहरुले सहकार्य र सहमतिमा काम गर्ने वातावरण बन्छ । एकले अर्कोको राम्रो योजनामा अवरोध गर्ने काम कसैले गर्दैन । उद्योगी, व्यवसायीको हितमा त्यो काम हुन्छ ।

मतको कदर गर्छु

चुनावको प्रचारमा जाँदा कतिपय उद्योगी, व्यवसायीहरुले विगतका नेतृत्वसँग धेरै नै गुनासो गरेका छन् । चुनावमा भोट माग्न आउने र जितेपछि फर्केर पनि नहेर्ने भनेर वहाँहरुको प्रश्न छ । म त्यसो गर्दिन । आम मतदाताको हक र हितका लागि सँधै सँगै रहेर काम गर्छु । वहाँहरुले दिनुभएको मतको कदर गर्छु ।
मत दिँदाखेरी सक्षम हो वा होईन निक्र्यौल गर्नुस् । मेरो बारेमा अध्ययन गर्नुस् । आपतकालिन अवस्थामा पनि सहयोग गर्न सक्छ कि सक्दैन विचार गर्नुस् । जुझारु हो भन्ने बुझेर, यसले काम गर्न सक्छ भन्ने बुझेर, गलत छैन र बोलेको कुरा पूरा गर्छ भन्ने बुझेर मलाई भोट दिनुहोला । तपाईं म प्रति विश्वस्त हुनुभयो भने त्यसपछि भोट हाल्न हात कमाउनुपर्दैन । म मतदातालाई नमन गर्छु । वहाँहरुको विश्वास मर्न दिने छैन । विश्वास गरौं, उद्योग वाणिज्य संघ एउटा सक्षम र सफल सामाजिक संस्था बन्ने छ ।