नवीन माविमा पुष्परत्न अक्षयकोष

पोखरा, साउन २१ ।
पोखरा महानगरपालिका वडा नम्वर ४ मा रहेको नविन माध्यामिक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । पोखरा ४ सिद्धार्थचोकका कमलराज लामिछानेले बुवा पुप्पराज लामिछाने र आमा रत्नकुमारी लामिछानेको पुण्यतिथिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको पुष्परत्न अक्षयकोष स्थापना गरेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको उपस्थितीमा लामिछाने र उनकी धर्मपत्नी निर्मला लामिछानेले सोमबार बिद्यालयका प्रधानाध्यापक शिरोमणी लामिछानेलाई चेक हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष बास्तोलाले लामिछाने परिवारले परोपकार काम गर्दै आएको र वडा नम्बर ४ मा एउटा मात्र सामुदायिक बिद्यालय रहेकोमा प्राथमिकता दिएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिए । अक्षयकोषबाट आउने रकमले बिद्यालयमा अध्यनरत जेहेन्दार बिद्यार्थीहरुलाई स्टेसनरी सामाग्री र छात्रवृत्ती प्रदान गरिनेछ । बिद्यालयमा प्रधानाध्यापक लामिछानेले सो अक्षयकोषबाट बिद्यार्थीको मनोवल बढ्ने बताउँदै अक्षयकोष स्थापनामा सघाउनेलाई धन्यवाद दिए ।