नयाँदिल्लीमा आगलागी, कम्तिमा ३४ जनाको मृत्यु

 

एजेन्सी, मंसिर २२ ।

भारतको नयाँ दिल्लीमा आगलागीमा परेर ३४ जनाको मृत्यु भएको छ ।

खाद्यान्न गोदाम (अनाज मण्डी) मा आगलागी हुँदा अरु ५२ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको खाद्यान्न गोदाममा आगलागी हुँदा त्यहाँ रहेकाहरुको निसास्सिएर मृत्यु भएको हो । सो स्टोरभित्र अझै धेरै मानिस फसेको हुन सक्ने आशंकामा खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा दिल्ली बाहिरबाट आएका काम गर्ने मजदुरहरू रहेको जनाइएको छ ।

आगो नियन्त्रणमा लिन ३० वटा दमकल परिचालन गरिएको थियो । आगलागी भएको क्षेत्र साँघुरो गल्लीभित्र भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन् ।

मजदुरहरु सुतिरहेका बेलामा आगो लागेकाले पनि धेरै मानवीय क्षति भएको जनाइएको छ ।