न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार

पोखरा, असोज ३० ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ऋणको बोझबाहेक अरु केही नभएको टिप्पणी गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले नेपाल र नेपालीको आँखा खोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनका लागि कूटनीतिक विजय भए पनि नेपालका लागि भने ऋणको बोझमात्र भएको टिप्पणी गरेको हो ।

न्यूयोर्क टाइम्सले यस विषयमा खोजमूलक समाचार प्रकाशित गर्दै चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पछिसम्म पनि नेपाललाई पीर दिइराख्ने ठहर गरेको हो । भद्र शर्मा, दाइसुके वाकाबायाशी र क्लेरी फुको बाइलाइनमा प्रकाशित उक्त समाचारमा चिनियाँ कम्पनीले निर्माण गरेको विमानस्थल निकै नै महँगो भएकोसमेत स्पष्ट पारिएको छ ।

समाचारमा यस विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएको उल्लेख गरिएको छ । विमानस्थल निर्माणमा संलग्न ६ जना सरोकारवाला र सयौँ पृष्ठका दस्तावेजको अध्ययनपछि प्रकाशित गरेको समाचार सामग्रीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गर्ने बेला मुनाफाको संरक्षण र आफ्नो स्वार्थ पूरा गर्न नेपाली पक्षको नियमनलाईसमेत बेवास्ता गर्दै आफ्नै व्यावसायिक शर्तमात्रै लाद्न खोजेको पनि उल्लेख गरिएको छ ।

अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोचेअनुसार यात्रुको संख्या नहुँदा पनि नेपालका लागि केवल ऋणको पासो बाहेक केही नहुने उल्लेख गरिएको छ । यसबाट नेपालले महँगो लागतमा विमानस्थल बनाउनु परेको र चिनियाँ ऋण तिर्नका लागि आवश्यक यात्रुहरु पनि विमानस्थल नआएको जनाइएको छ ।

यही ऋणको पासोलाई पटक पटक नेपालका लागि चिनियाँ राजदूत छोन सङले विमानस्थल बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत भएकोसमेत भन्दै आएका छन् । जबकि अहिलेसम्म नेपालमा बीआरआई लागू नै नभइसकेको भनेर सरकारले भन्दै आएको छ । सङले नेपालको हितमा चीनमात्र भएको र भारत नरहेको भन्दै कूटनीतिक मर्यादा नाघेर बोल्दै आएका छन् ।

उनको भनाइमा नेपाललाई चीनले जस्तो चाह्यो त्यस्तै बनाउन सक्छ भन्ने किसिमको आशय झल्कन्छ । अहिले त्यही बीआरआई परियोजना शुरू भएको दश वर्षको अवसरमा चीनमा तेस्रो बेल्ट एन्ड रोड फोरम इन्टरनेशनल कोअपरेसन (बीआरएफ) को सम्मेलन चलिरहेको छ ।

चीनले सन् २०१७ मा पहिलो र सन् २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बीआरआई कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न यो सम्मेलन आयोजना गरिएको हो । न्यूयोर्क टाइम्सले आँखा खोलिदिए पनि सरकारको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको टिम चीनमा छ । त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि लिएर कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालासम्म चीनमै छन् ।

सम्मेलनमा नेपालसहित विश्वका दर्जनौँ मुलुकका प्रतिनिधिहरु सहभागी भइरहेका बेला न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा पोखरा विमानस्थलजस्तो ‘कुनै पनि हालतमा पूर्वाधार बनाउने’ चिनियाँ विकास मोडेललाई लिएर आलोचना चर्किँदै गएको छ । चीनले दिने ऋणबाट पूर्वाधार निर्माण गर्दा महँगो लागत हुने र गुणस्तर नै कमजोर हुने भएकाले एकातर्फ गरिब र विकाशशील मुलुकमाथि ऋणको भार थपिँदै जाने र अर्कोतर्फ चिनियाँ कम्पनीले मोटो रकम प्राप्त गर्ने न्यूयोर्क टाइम्सले दाबी गर्दै लेखेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको गत जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । शुरूआतमा विमानस्थल निर्माणका लागि चिनियाँ सीएमएसी कम्पनीले सस्तोमा सहमत भएको भए पनि पछि भने निकै महँगो रकममा सहमति गर्नुपरेकोसमेत उल्लेख गरेको छ ।

एक तिहाइ रकम निर्व्याजी ऋण हो । तर दुर्भाग्य उद्घाटन गरेको लामो समय भइसक्दासमेत नियमित रूपले अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि भने यो घाटाको जंजालमा नेपाल फसेको अनुमान भइरहेको छ । सन् २०१४ मा भएको एक अध्ययनअनुसार विमानस्थलको आफ्नै आयबाट ऋण तिर्न सकिने उल्लेख गरिएको थियो । त्यसका लागि विमानस्थलमा सन् २०२५ भित्र करिब दुई लाख ८० हजार यात्रु आउनुपर्छ । दुर्भाग्य हालसम्म विमानस्थलबाट कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

विमानस्थल निर्माण प्रक्रियामासमेत त्रुटि रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । चिनियाँ कम्पनीलाई ठेक्का दिएपछि मात्रै सन् २०१६ मा विमानस्थल निर्माणका लागि नेपाल र चीनबीच २० वर्षे सम्झौता भएको थियो ।