गाउँपालिका अध्यक्षसँग विद्यार्थीको गुनासो : बारम्बार शिक्षक सरुवाको समस्याले अध्ययन अध्यापनमा समस्या

 

फेदिखोला, मंसिर ६ ।

गणित र विज्ञान विषयका शिक्षकहरु शैक्षिक सत्रको बिचबिचमा सरुवा भइराख्ने समस्याले अध्ययन अध्यापनमा समस्या आएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।

विद्यार्थी, अभिभावक र शिक्षकको समस्या सुन्न फेदीखोला गाउँपालिकाले आयोजना गरेको विद्यार्थीसँग अध्यक्ष कार्यक्रममा सहभागी अधिकाँश विद्यार्थी र अभिभावकले अध्यापन विधि प्रभावकारी बनाउन माग गरेका छन् । शिक्षा क्षेत्रमा गुणस्तरियता बढाउन सञ्चालित विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत बुधबार गाउँपालिकाको वडा नं. ४ आरुखर्कमा सम्पन्न तेस्रो संस्करणको कार्यक्रममा उनीहरुले उक्त माग गरेका हुन् ।

गलेमको शितला माध्यमिक विद्यालय र खामुहालेको सरस्वती आधारभुत विद्यालयका करिब १ सय जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले गुनासो सुनुवाई कार्यक्रम अत्यन्त राम्रो भएको र कार्यान्वयन पक्ष पनि उत्तिकै बलियो हुनुपर्ने बताएका थिए ।

‘एक बर्ष भित्र नै शिक्षकहरु फेरबदल हुनाले निरन्तर पढाईमा बाधा पुग्दै आएको छ ।’ शितला माविका कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष लामिछानेले गुनासो गरे । साथै आर्थिक अभावका कारण आफ्नो घरमा विद्युत जडान हुन नसकेको भन्दै पढ्न समस्या भएको उनले बताए । कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी यशोदा नेपालीले साना देखि ठूला कक्षामा केही शिक्षकहरुमा मित्रवत व्यवहारको कमी रहेकाले त्यसलाई सुधार्न गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने बताइन् । ‘केही शिक्षकहरुले परम्परागत तवरमै ठाडो व्यवहार गर्छन् ।’ विद्यार्थीमैत्री वातावरण सृजना गर्न सके शिक्षकसँग चाँडो घुलमिल गर्न सकिने उनको तर्क थियो ।

त्यस्तै कक्षा ९ मा अध्ययनरत सृष्टि पौडेल र अनिता पौडेल, कक्षा ८ मा अध्ययनरत सौरभ ढकालले अतिरिक्त क्रियाकलापका लागि पुर्वाधार अभाव भएको समस्या प्रकट गरे । कक्षा ८ मा अध्ययनरत सन्ध्या विकले आधारभुत तहको परीक्षा केन्द्र टाढा भएकाले कठिनाई आइपरेको बताइन् । कक्षा ७ मा अध्ययनरत पोतराज पौडेलले केही शिक्षकहरु कक्षामा ढिलो आउने र समय अगावै बाहिर निस्कने समस्या रहेको पढाइमा असुविधा रहेको बताए । कक्षा १० कि सविना गुरुङले शिक्षकले पनि विद्यार्थीले जसरी पोशाक लगाउनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै अभिभावक छवि पौडेलले प्रधानध्यापकको अनुपस्थिती हुँदा शिक्षकहरुको कार्यतालिका व्यवस्थित बनाउन माग गरे । साथै इन्टरनेटको सदुपयोग भन्दा दुरुपयोग भएको भन्दै शिक्षण सिकाईमा इन्टरनेट प्रयोग गर्न उनको माग थियो । अर्का अभिभावक राजकुमार ढकालले महिला शिक्षकलाई ९८ दिनको सुत्केरी विदा दिँदा वैकल्पिक शिक्षकको व्यवस्था हुनुपर्ने बताए । साथै उनले शिक्षकलाई कार्यसम्पादन अनुसार दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्नेसमेत माग गरे । सुब्दार आइबहादुर गुरुङले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने, नयाँ शिक्षकलाई तालिम दिनुपर्ने र सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

शिक्षकले विदा लिदा अर्को शिक्षकले पढाउने व्यवस्था गरेको र सो कक्षा लिएबापत प्रति पिरियड रु ३० प्रोत्साहन भत्ता विद्यालयको नीजि स्रोतबाट ब्यहोर्ने गरिएको विद्यालयको सकरात्मक पक्ष देखिएको छ ।

शितला मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेजर डिलबहादुर गुरुङले विद्यार्थी, विद्यालय र गाउँपालिकाको त्रिकोणात्मक सम्बन्धले शैक्षिक गुणस्तरीयतामा तिब्रता दिन सकिने बताए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै विद्यार्थीसंग नजिकिएर समस्याको जड पत्ता लगाउन कार्यक्रम सञ्चालनमा आएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले विद्यार्थीको समस्या यथाशिघ्र समाधानको बाटोमा लैजान विद्यालय प्रशासनलाई निर्देशन दिए ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विद्यार्थीसँग अध्यक्ष कार्यक्रमले शैक्षिक समस्या नजिकैबाट नियाल्ने अवसर पाएको र शैक्षिक सुधारका लागि गाउँपालिका एक्सनमा तत्काल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै विद्यालयको भौतिक पुर्वाधार विकासमा गाउँपालिकाले सहयोग गर्ने उनले आश्वासन दिए ।

वडा नं. ४ का वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक माधवप्रसाद शर्मा सुवेदीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शितला माविका प्रधानाध्यापक तुलसीराम पौडेलले गरेका थिए ।