खोकीको औषधि खाँदा भारतका क्रिकेटर शा ८ महिनाका लागि निलम्बित

 

काठमाडौं, साउन १५ ।

 

भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।

 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ ।

 

बोर्डले भनेको छ, ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए । त्यसमा टर्बुटालाइन पाइयो, जुन प्रतिबन्धित पदार्थमा पर्छ ।’

 

शाले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । तर यो जानीबुझी नभई खोकीको कफ सिरपको रुपमा खाएको उनले बताएको बीसीसीआईले जनाएको छ ।

 

तर, कानुनअनुसार शामाथि ८ महिनाको प्रतिबन्ध लागेको छ, जुन १६ मार्च २०१९ बाट सुरु भएर १५ नोभेम्बर २०१९ मा पूरा हुनेछ । शासँगै घरेलु क्रिकेटमा खेल्ने अक्षय दुलारवर र दिव्य गजराज पनि ८ महिना निलम्बनमा परेका छन् । (अनलाइनखबरबाट साभार)