विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, नेपाल समूह ‘बी’मा
काठमाडौं, भदौ १३ ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत् कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले बिहीबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।
नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्दै प्रतियोगिता उद्घाटन गर्ने भएको छ । त्यस्तै, चाइनिज ताइपेइसँग पनि भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।
छनोट हुने नेपाली खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।
त्यस्तै, मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डरमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन् । (रासस)