देशभर निःशुल्क वितरण हुने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद हुने
काठमाडौं, माघ ९ ।
सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीहरुबाटै खरिद गर्ने विषयमा आवश्यक काम अगाडि बढाउन उच्चस्तरीय समिति गठन भएको छ।
स्वास्थ्य मन्त्रालयले पुस ३० मा मन्त्रालयको नीति योजना तथा अन्तर्रा्ष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा रमेश खरेल, प्राथमिक स्वास्थ्य तथा पूनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा, नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल र स्वास्थ्य मन्त्रालयका उपसचिव राजीव पोखरेल छन्।
समितिलाई प्रमुख चार वटा कार्यक्षेत्र तोकिएको छ। तीमध्ये पहिलो नम्बरमा ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्ने रहेको छ। त्यसपछि तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको ३० प्रकारका औषधि आयातमा कडाई गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका विभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादन क्षेत्र प्रवर्द्धन गर्न आवश्यक सुझाब दिने रहेका छन्।
समितिको पहिलो बैठक बसिसकेको छ। समितिले अबको केही दिनमै प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाउने समितिका सदस्य दीपकप्रसाद दाहालले जानकारी दिए।
समितिका अर्का सदस्य भोगेन्द्र डोटेलका अनुसार निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि खरिदमा सरकारले हरेक वर्ष डेढ अर्ब रुपैयाँ खर्च गर्दै आइरहेको छ। यो रकमबाट खरिद हुने अधिकांश औषधि भारत लगायतका देशबाट आउने गरेको छ।
निःशुल्क वितरण गर्ने सबै ७० प्रकारका औषधि नेपालमै पर्याप्त मात्रमा उत्पादन हुन थालेपछि यी औषधि नेपाली उत्पादकबाटै खरिद गर्ने निर्णयमा सरकार पुगेको हो। नेपालमा हाल करिब ४० अर्बको औषधि बजार छ। त्यसमध्ये नेपाली कम्पनीको हिस्सा ४५ प्रतिशत छ। सरकारले ७० प्रकारका औषधि र ३० वटा उत्पादनको आयातमा कडाई गर्ने हो भने यो हिस्सा ६० प्रतिशतभन्दा माथि पुग्ने दाहाल बताउँछन्। हाल नेपालमा ५५ वटा औषधि उत्पादन कम्पनी छन्।
यी औषधिमा नेपाल आत्मनिर्भर
नेपाल औषधि उत्पादक संघ (एपोन)ले आत्मनिर्भर औषधिको सूची बनाएर सरकारलाई उपलब्ध गराइसकेको छ । स्वास्थ्य मन्त्रालय र विभागमा एपोनले उपलब्ध गराएको आत्मनिर्भर औषधिको सूची अनुसार
एन्टी इन्फेक्टिभः अल्बेन्डाजोल, एमोक्सिसिलिन, एजिथ्रोमाइसिन, सेफाड्रग्सिल, सिप्रोफ्लोक्सासिन, क्लेथ्रोमाइसिन, कोट्राइमोक्साजोल, मेट्रोनिडाजोल, मेबेन्डाजोल, रोक्स्थ्रोमाइसिन र टिनिडाजोल ।
न्युरो साइक्याट्रीः अल्प्राजोलम, एमिप्टिप्टिलिन, क्रोनाजेपाम, डाइजेपाम, इसिटालोप्राम, फ्लोअक्सिटिन, लोराजेपाम, ओलोनाजिपाम, रेस्पेरिडोन र सेट्रालाइन।
ग्यास्ट्रोइन्टेस्टाइनलः एन्टासिड कम्बिनेसन, बिसाकोडाइल, डोमपेरिडोम, फेमोटिडिन, हायोसिनब्युटाइलब्रोमाइन, स्पागोलहुस्क, मेट्रोकोलोप्रोमाइड, ओमेप्राजोल, ओन्डेनस्याट्रोन, प्यान्टोप्राजोल र रेनिटिडिन।
न्युट्रिसनल सप्लिमेन्टः क्याल्सियम कार्बोनेट, क्याल्सियम प्लस भिटामिन डी थ्री, डाइजेस्टिभ इन्जाइम्स, फोलिक एसिड, ग्लुकोसेमाइन, आइरन, मिथाइलकोबालामिन, थाइमिन हाइड्रोक्लोराइड, भिटामिन बि कम्प्लेक्स ।
एन्टी एलर्जिक, इम्युन र रेस्पेरिटरी डिसअर्डरः सिट्रिजिन, क्लोरोफिनारामिन, म्यालेट, सिप्रोहेप्टिडिन, डोक्सिफाइलिन र फेक्सोफेनाडिन ।
एन्टिएनालजेसिक/एन्टिइन्फ्लामेन्टरी/एनएसएआइडिएस/अर्थोः एसिक्लोफेन्याक, क्लोराजोक्साजोन, डिक्लोफेनाक पोटासियमरसोडिएम, डिक्लोफेनाक डाइथाइललामाइन, आइब्रुफिन, निमुस्लाइड, पारासिटामोल र ट्रामाडोल ।
कार्डियोरसेरेबो भास्कुलरः एम्लोडिपिन, एटिनोलोल, एट्रोभास्टाटिन, लोसरटान पोटासिएम, प्रोपानोलोल र ट्रानेक्सिमिक एसिड ।
नेफ्रोरयुरोलोजीः एलोप्युरिनोल र फुरुसेमाइट ।
माउथवास एन्ड डेन्टलः क्लोरोहेक्जाडिन ग्लुकोनेट ।
डिसइन्फेक्टेन्सः प्रोभिडोन आयोडिन ।
भारतका गुणस्तरहीन औषधिलाई पटक–पटक स्विकृति
नेपाली बजारमा विक्री भइरहेको भारतको डा. रेड्डिज ल्याब्रोरटरी प्रालिबाट उत्पादित र्या्बिप्राजोल सोडियम ट्याब्लेट (राजो २०) पटक–पटक मापदण्ड विपरित र गुणस्तरहीन पाइएको छ । ग्यास्ट्राइटिसको उक्त औषधि गुणस्तरहीन पाएपछि विभागले समस्या देखिएको ब्याचका औषधि फिर्ता गर्न गत असोज १७ गते सार्वजनिक सूचना निकालेर अनुरोध र्गयो ।
तर, ती औषधि फिर्ता भएरनभएको विषयमा विभागले चासो दिएन । न त उक्त कम्पनीलाई गुणस्तर सुधार गर्न चेतावनी नै दियो । ग्यास्ट्राइटिसको उपचारका लागि आवश्यक पर्ने यस्ता प्रकृतिका औषधि नेपाली कम्पनीहरुले पर्याप्त उत्पादन गर्दै आएका छन् । विदेशबाट आयात नहुँदा पनि नेपाली उत्पादनले माग धान्ने अवस्था छ । तर, भारतीय औषधिमा पटक–पटक समस्या देखिँदा पनि विभागले कारबाही र कडाइ गरेको छैन।
विभागको अनुमति पाएर नेपाली बजारमा भित्रिएको अर्को भारतीय कम्पनीको औषधि डिक्लोफेनाक सोडियम आइपी ७५ एमजीमा पनि गम्भीर त्रुटी भेटियो । सुइको माध्यमबाट दिइने दुखाइ कम गर्ने उक्त औषधिमा सुइजन्य औषधिको बनावटमा प्रयोग गर्न नमिल्ने पदार्थ भेटिएको थियो ।
इजेक्सनको माध्यमबाट सिधै रगतमा जाने यस्तो औषधिमा गम्भीर त्रुटी भेट्दा पनि विभागले सार्वजनिक सूचना जारी गर्दै एउटा ब्याचको औषधि फिर्ता गर्न मात्र भन्यो । समस्या देखिएका औषधि बजारबाट फिर्ता भएरनभएको कुनै विवरण विभागमा आएको छैन । भारतीय कम्पनीले उत्पादन गर्ने उक्त औषधि पनि नेपाली कम्पनीबाट उत्पादन हुन्छ ।
विभागले हरेक वर्ष अनुगमनका क्रममा भारतबाट आयात भएका धेरै औषधिमा समस्या फेला पार्छ तर ती औषधिलाई रोक्न र कारबाही गर्न सक्दैन ।