दसैंमा मासु खाँदा के कुरामा ख्याल गर्ने ?

पोखरा, कात्तिक ४ ।
दसैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैं । दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ । मासुबिना दसैं अधुरो मानिन्छ । तर दसैंमा धेरै मासु खाँदा अपचको समस्या भई स्वास्थ्यमा समस्या समेत आउन सक्छ ।

किन हुन्छ समस्या ?
एउटा काम नसक्दै अर्को काम थुपार्दा त्यसलाई सम्पन्न गर्न गाह्रो हुन्छ । त्यस्तै दशैंको बेला धेरै मासु खाँदा पेट र कलेजोमा त्यस्तै भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जसकारण अपच भएर झाडापखाला लाग्न सक्छ ।

कलेजोको काम खानालाई पचाउने हो । अन्य खानेकुराभन्दा मासु पचाउन समय लाग्छ, किनकि यो प्रोटिनको मुख्य स्रोत हो । दशैंको बेलामा मासु अत्यधिक मात्रामा जसले गर्दा कलेजोले मासुलाई पचाउन सकेको हुँदैन । त्यसमाथि रक्सीसँग मासु थप खाइरहेका हुन्छन् । यसले रक्सी र मासु दुवैलाई पचाउन कलेजोले जोडतोडका साथ कलेजोले काम गरेको हुन्छ । त्यस्तै सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।

यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियतलगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।

कसरी पकाएको मासु पचाउन सजिलो हुन्छ ?
तेल, मरमसला कम राखेर कुकरमा पकाएको मासु पचाउन सजिलो हुन्छ । तर दशैंमा मासु यसरी झोल बनाएर वा नरम बनाएर भन्दा पनि पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ । पोलेर फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न चपाउन गाह्रो हुने हुन्छ । जसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ ।

मासुको टुक्रा स–साना बनाएर सुपजस्तै गरी पकाएर खाएमा झनै पचाउन सजिलो हुन्छ । मासु पकाएर भन्दा उसिनेर खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । किनकि उसिनेको मासुमा बोसो कम हुने र तेल, मसलासमेत कम हुने हुँदा शरीरलाई बेफाइलदा गर्दैन । त्यस्तै मासुका साथै फाइबरयुक्त खानेकुरा पनि मिलाएर खाएमा लाभदायक हुन्छ ।

मासु बालबालिका र वृद्धवृद्धाले पाचनप्रक्रिया कमजोर हुने भएकाले उनीहरुले मासुजन्य परिकार कम सेवन गर्दा उपयुक्त हुन्छ । धेरै खाएमा नपचेर कब्जियत, पेट गडबडी हुने र मलद्वारमा समेत समस्या हुन सक्छ ।

कलेजोका बिरामी विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तिने हो । चाडबाडको समयमा खानामा ध्यान नदिंदा कलेजो बिग्रिन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।

मासुको छनोट ?
मासुका पनि विभिन्न प्रकार हुन्छन् । कलिलो, कडा, हड्डी धेरै भएको, बोसो धेरै भएको हुन्छ मासु । कलिलो खसी, बोका वा राँगाको मासु पचाउन अलि सजिलो हुन्छ भने कडा, रेसादार, रातो मासु पच्न धेरै समय लाग्छ । यसबाहेक रातो मासुभन्दा बरु कुखुराको मासु, माछा खानु राम्रो हुन्छ । अनलाइनखवरबाट