रौतहटको श्रीराम सुगर मिल्स संचालनमा आउने

 

रौतहट, पुस २२ ।

उखु किसानको बक्यौता रकम भुक्तानीसंगै रौतहटको श्रीराम सुगर मिल्स संचालनमा आउने भएको छ ।

यससँगै उखु किसानहरुमा खुशीयाली छाएको छ । चार वर्षदेखि उखु किसानको रकम भुक्तानी नगरेको श्रीराम सुगर मिल्सको ब्यबस्थापन पक्षले मिल्सनै बन्द गर्न लागेपछि किसानहरु निराश भएका थिए ।

यही पुस १५ गते सरकार, मिल्स संचालक र उखु किसानबीच भएको त्रिपक्षिय सम्झौता अनुसार मिल्स संचालन गर्ने र क्रमिक रुपमा उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने सहमति भएअनुसार यतिखेर श्रीराम सुगरमिल्सले धमाधम मर्मत कार्य गर्दै आएको छ ।

मिल्सका वरिष्ठ कार्यालय सहायक श्याम यादवले आगामी माघ १५ गते सम्ममा मिल्स संचालन गर्नको लागि तयारी गरिएको बताए ।

उनले मिल्स कर्मचारीलाई समेत काममा फर्कन अनुरोध गरिएको बताए । यतिखेर मिल्सको मर्मत कार्यका लागि दैनिक १ सय ५० कामदार खटिएका छन् ।

श्रीराम सुगर मिल्सले उखु किसानको साढे ३७ करोड तिर्न बाँकी रहेको छ ।
(ईमेजखबरबाट साभार)