मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने

पोखरा, असोज ६ ।

मुस्ताङको पर्यटन र कृषिको उत्थान गर्न जोमसोममा महोत्सव हुने भएको छ ।घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्न लागेको हो । असोज १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन हुनेछ।

मुस्ताङमा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्द्धन, मुस्ताङको धार्मिक कलासंस्कृति, मौलिकता, स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्लालाई पर्यटक सामु परिचित तुल्याउन महोत्सव आयोजना गरिएको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । 

यसका लागि विभिन्न समिति र उपसमिति गठन गरिएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन् । 

महोत्सवमा घरपझोङ गाउँपालिकास्तरीय कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रर्दशनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । विभिन्न खेलकुद प्रतियोगिता पनि हुनेछ । 

खुला तारा प्रतियोगिताका विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । 

खुला भलिबलतर्फको च्याम्पियनले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।