तातोपानी नाका दश दिन बन्द हुने

 

चौतारा (सिन्धुपाल्चोक), असोज ७ ।

अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ–दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए ।

सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सातरआठ टोली तिब्बत गइसकेकाले अबको तीनरचार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् । (रासस)