पूराना मोवाईल साट्नु छ ? मेलामा जानुस्

पोखरा, मंसिर १४ ।
पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ नेपाली मौलिक संस्कृति प्रदर्शनको थलो बनेको छ । नेपालमा रहेका विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले एक्सपोमा बालन, घाँटु, लाखे नाच, कृष्ण चरित्रदेखि रत्यौली समेत समावेश गरिएको साँस्कृतिक उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार एक्स्पोमा लमजुङको पसगाउँको घाँटु नाच प्रदर्शन गरियो भने शनिबार नेवारी सँस्कृतिसँग जोडिएको लाखे नाच देखाइने छ । रत्यौली, विद्यालयस्तरीय एकल र सामूहिक नृत्य, लोकदोहारी प्रतियोगिता शुक्रबारबाट नै सुरु भएको उनले बताए ।

शनिबार लोकदोहोरी गायकहरु बसन्त थापा, चोलेन्द्र पौडेल, तारापति सुवेदी, घनश्याम रिजाल, सरस्वती लामिछाने,राजन कार्की, अमर धिताल, सरला पाण्डे, प्रेमराज अधिकारी, कल्पना आले, जुना क्षेत्रीको प्रस्तुति रहनेछ भने हास्य प्रहसनतर्फ पोखरेली माग्ने बूढा र धुर्मुसले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

पप तथा आधुनिक गीततर्फ माण्डवी त्रिपाठीको प्रस्तुति रहनेछ । लोकदोहोरी प्रतियोगिताको विजेताले ५१ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नेले क्रमशः ३१, २१ र ११ हजार प्राप्त गर्नेछन् ।

लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना भएको सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला आउँदो मंसिर २४ गतेसम्म जारी रहनेछ । मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको हो ।

यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने पनि मेलाको उद्देश्य भएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन, नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्सपो आयोजना भएको हो ।

एक्सपोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प ,हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादनलगायतका ३ सयवटा स्टलहरु रहेका छन् ।

यता, मोवाइल मेलाअन्तर्गत एक्सपोमा १२ वटा विभिन्न ब्राण्डका मोवाइलका स्टलहरु रहेका छन् । ती स्टलहरुबाट विशेष छुटमा मोवाइल फोन र आवश्यक एसोसरिजहरुको बिक्री बितरण तथा साँटफेरको व्यवस्था पनि गरिएको छ । यसैगरी आधिकारिक कागजपत्रसहित कुनै पनि ब्राण्डका चल्दै गरेका मोवाइल फोन ल्याएमा साँटफेरको व्यवस्था गरिएको महासचिव पोखरेलले जानकारी दिए ।