हङकङमा जारी प्रदर्शन ‘भयावह घटना’ः चीन

एजेन्सी, साउन १४ ।

 

हङकङमा हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले त्यसबाट कानुनी शासनमा गम्भीर असर परेको जनाएको छ ।

चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुवाङले जारी गरेको विज्ञप्तिमा हङकङका नागरिकहरु कानुनी शासनको पक्षमा उभिने आशा गरिएको छ ।

निकै कम वक्तव्य जारी गर्ने हङकङ तथा मकाउ मामिला कार्यालयले विज्ञप्तिमा कट्टरपन्थी तत्वहरूले गरेका खराब र आपराधिक कार्यहरूको निन्दा गरेको भन्दै स्थितिको गम्भीरता बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

विवादास्पद सुपुर्दगी कानुनको विरोधबाट सुरु भएको प्रदर्शन अहिले प्रजातन्त्रको पक्षमा अगाडि बढेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपहरू भएका छन् । प्रदर्शनकारीहरु प्रहरीले दमन गरेको भन्दै थप आक्रोशित भएका छन् ।

सरकारले विधेयक स्थगित गरेपछि प्रदर्शनकारीहरूले अहिले त्यो फिर्ता हुनुपर्ने मागसँगै प्रहरी दमनको छानबिन र प्रजातान्त्रिक सुधारको माग गरिरहेका छन् ।

गत साता चीनको रक्षा मन्त्रालयले चीनको सम्पर्क कार्यालयमा गरिएको आक्रमणको निन्दा गर्दै हङकङका नेताहरूले सेनाको सहयोग माग्नसक्ने स्पस्ट प्रावधान रहेको बताएको थियो ।

सन् १९९७ यता चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक दुई शासन प्रणालीअन्तर्गत् सन्चालित छ ।