सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन चर्कंदै

 

एजेन्सी, साउन १९ ।

विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन चर्कंदै गएको छ ।

९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप जिल्लामा निकालेको ¥यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरुले सोमबारका लागि आह्वान गरिएको हड्तालमा सहभागी हुन आह्वान गरेका छन् ।

यसैबीच बेइजिङ र चिनियाँ सेनाले हङकङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन् ।

सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्णरूपमा खारेज हुनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीहरुले प्रजातान्त्रिक अधिकार थप गर्नुपर्ने र हङकङकी नेतृ क्यारी लामको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीहरुले सुपुर्दगी विधेयकले हङकङलाई योजनाबद्ध ढंगबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको आरोप लगाएका छन् ।