सुपर्दुगी विधेयकविरुद्ध हङकङमा प्रदर्शन जारी, अन्तर्राष्ट्रिय विमानस्थलमै छिरे प्रदर्शनकारी

एजेन्सी, साउन २४ ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकविरुद्ध हङकङमा डेढ महिनादेखि आन्दोलन जारी छ । हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेका छन् । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शनमा रहेका उनीहरु शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमै प्रवेश गरेका हुन् ।

त्यहाँ पुगेका उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्ड आगन्तुकलाई वितरण गरेका थिए । प्रदर्शन विमानस्थलका अधिकारी र प्रहरीको समन्वयमा गरिएको दावी उनीहरुले गरेका छन् ।

प्रशासनले भने प्रदर्शन अगावै विमानस्थलको सुरक्षा कडा बनाएको जनाएको छ । विमान कम्पनीहरूले यात्रुहरूलाई तोकिएको समय अगावै विमानस्थल आइपुग्न भनेका छन् ।

चीनले भने हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ । केही दिनअघि प्रदर्शनकारीले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमै तोडफोड गरेका थिए ।

ब्रिटेनले हस्तान्तरण गरेपछि हङकङमा ‘एक देश दुई व्यवस्था’ अन्तर्गत स्वायत्त शासन चलिरहेको छ । चिनियाँ रक्षा मन्त्रालयले प्रदर्शनले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेको चेतावनी दिएको हो ।

हङकङको कुनै अभियुक्तलाई चीन सरकारले चाहेमा मेनल्याण्ड चीनमा पठाउन सकिने विधेयक हङकङ सरकारले ल्याएपछि त्यहाँ आन्दोलन चर्केको हो । यो व्यवस्था लागु भएमा बेइजिङले आफ्ना विपक्षीलाई तारो बनाउने र चीनको न्याय व्यवस्था पारदर्शी नभएकाले न्याय नपाइने भन्दै उनीहरु विरोधमा उत्रेका हुन् ।

हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय बनाइएको बताए पनि प्रदर्शनकारीले विधेयक फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।