सिरियामा हवाई आक्रमण, २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु

काठमाडौं, साउन ११ ।

सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ ।

सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताए ।

उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताउनुभयो । रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ ।

राष्ट्रसंघकी मानव अधिकार प्रमुख मिचेल बचेलेटले स्पष्ट अन्तर्रा्ष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण भएको बताइन ।

उनले हवाई हमलामा सर्वसाधारण नागरिक पर्नु विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता भएको बताइन । विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृतकको संख्या बढ्नुलाई उनले राष्ट्रसंघीय सुरक्षा परिषद्को निकम्मापन भएको आरोप लगाइन । त्यस्तो हमला गराउनेहरु युद्ध अपराधमा मुछिन सक्ने उनको चेतावनी थियो ।

सिरिया सरकारले भने अल कायदासँग जोडिएका जिहादीले युद्धविराम उल्लंघन गरेकाले कारबाही गर्नुपरेको जनाएको छ । (ईमेज खबरबाट साभार)