सिक्किममा एक्कासी राजनीतिक हलचल, दुई तिहाई विधायक भाजपामा प्रवेश, पूर्व मुख्यमन्त्री चाम्लिङ एक्लिए

 

एजेन्सी, साउन २९ ।

सिक्किम डेमोक्रेटिक फ्रन्टका १५ विधायकमध्ये १० जनाले पार्टी परित्याग गर्दै भारतीय जनता पार्टीमा प्रवेश गरेपछि सिक्किमको राजनीतिमा हलचल बढेको छ ।

सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक तथा प्रदेशमा पाँच पटक मुख्यमन्त्री भइसकेका नेता पवन चाम्लिङलाई ठूलो संख्यामा उनका सहयोगीहरुले साथ छाडेका हुन् । दुई तिहाइ विधायकले पार्टी छाडेपछि उनी एक्लिएका हुन् भने विधानसभामा उनको दल सानो आकारमा खुम्चिएको छ ।

चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट गठन गरेपछि लगातार पाँच विधानसभा निर्वाचनमा पार्टीलाई जित दिलाएका थिए । पाँच पटक नै उनले सरकारको नेतृत्व गरे । यस वर्ष सम्पन्न विधानसभा निर्वाचनमा भने उनको दल पराजित भयो । ३२ सिट रहेको विधानसभामा चाम्लिङको दलले १५ सिटमात्र जित्न सक्यो भने सिक्किम क्रान्तिकारी मोर्चाको नेतृत्व गर्दै आएका प्रेमकुमार तामाङ उर्फ पिएस गोलेले सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्षलामो शासन समाप्त गर्दै प्रदेश सरकारको नेतृत्व गरे । उनको दलले विधानसभामा १७ सिट हासिल गरेको छ ।

१५ सिटमा खुम्चिएको सिक्किम डेमोक्रेटिक फ्रन्टले मंगलबार दुई तिहाई अर्थात् १० विधायक गुमाएको छ । सिक्किम विधानसभा निर्वाचनमा एक सिट पनि हासिल गर्न नसकेको भारतीय जनता पार्टीले सिक्किम डेमोक्रेटिक फ्रन्टबाट पार्टीमा प्रवेश गरेका १० विधायक पाएको छ ।