राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्छु : जोन बोल्टन

 

एजेन्सी, पुस २२ ।

अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान गर्नुअघि अनुसन्धानका क्रममा भने बोल्टनले ट्रम्पकै निर्देशनमा छानविनमा असहयोग गर्ने घोषणा गरेका थिए ।

तर तल्लो सदनले बहुमतले महाअभियोग प्रस्ताव पारित गरेर माथिल्लो सदनमा विचाराधिन अवस्थामा रहेका बेला बोल्टनको यस्तो भनाइ आएको हो ।

बोल्टनले एक विज्ञप्ती जारी गरेर आफू ट्रम्पविरुद्धको महाअभियोग छानविनका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ ।

बोल्टन राष्ट्रपति ट्रम्पका विवादास्पद गतिविधिका बारेमा जानकार रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनमाथि दवाव दिएको आरोप लागेको छ ।

ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्ना संभावित प्रतिष्पर्धिलाई भ्रष्टाचारको अभियोगमा छानविनको दायरामा ल्याउन युक्रेनमाथि दवाव दिएको विपक्षीहरुले आरोप लगाएका छन् ।