म्यानमारका विस्थापित घर फर्किन थाले

एजेन्सी, भदौ ३० ।
केही दिनयतादेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनमा अवस्थित मुस्लिम रोहिङ्गा समुदायका नागरिक घर फर्किन थालेको समाचार छ ।
म्यानमार सरकारलाई उद्धृत गर्दै त्यहाँको सरकारी पत्रिका ग्लोबल न्यु लाइटले दिएको जानकारीअुनसार हालैको विद्रोहका कारण विस्थापित भएर बसेका ती नागरिक घर फर्किन थालेका हुन् ।
पत्रिकाका अनुसार ४ हजार २२० जना रोहिङ्गा समुदायका नागरिक आ आफ्नो घर फर्र्िकएका हुन् । उनीहरुलाई घर फर्किनलाई म्यानमारका सुरक्षार्कीहरुले सहयोग गरेका थिए ।
सरकारी सुरक्षाकर्मीले नै सुरक्षा दिएर उनीहरुलाई विभिन्न गाँउबाट आफ्नो घर फर्काएको सो पत्रिकाले बिहीबारको संस्करणमा जनाएको छ ।
राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकाका पाँच भन्दा बढी गाउँमा पुगेका बताइएको छ ।
प्राप्त समाचारअनुसार उनीहरुलाई ती विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार समेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था यहीँ पनि दयनीय रहेको समाचार यसअघि नै आएको थियो ।
गएको अगष्ट २५ तारिखदेखि उक्त राज्यमा रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ ।
सो विवादका कारण रोहिङगाले देश समेत छोडेका छन् । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ । यसै कारण सरकारको विश्वव्यापी रुपमा आलोचना पनि भएको छ ।
अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ ।
यसरी सेनाले गाउलेमाथि नै आक्रमण गर्न थालेपछि म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन् ।
उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । तर संख्या भने स्पष्ट छैन ।
उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ ।
म्यानमार सरकारले यसरी विस्थापित भएर बङ्गलादेश पुगेका नागरिकलाई पनि स्वदेश फर्किन आग्रह गरेको छ । म्यानमार सरकारले हल्लाको पछि नलाग्न र आफ्नो देश फर्किन बङ्गलादेश पुगेका आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
आङ सान सुकीको आलोचना
उता प्राप्त पछिल्लो समाचारअनुसार म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने म्यानमार सरकारले जनाएको छ । सुकीले त्यस सभामा आफ्नो उपस्थिति रद्द गरिसकेको म्यानमार सरकारले बुधबार नै जनाएको थियो ।
म्यानमारमा देखिएको स्थानीय रोहिङ्गा समुदायका नागरिकसम्बन्धी यही विवादका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएकोले उनले भ्रमण नै रद्द गरेकी बताइएको छ ।
तर उहाँको यस कदमको विश्व समुदायले भने आलोचना गरेको छ । विश्व समुदायले सुकीले राखिनको बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने भएकोले यसबाट पन्छिन खोजेको आरोप अधिकारवादीहरुले लगाएका छन् ।
उनीजस्तो प्रजातन्त्रवादी नेता एवम् नोवेल पुरस्कार विजेता व्यक्ति मुलुकको राज्यसत्तामा हुदा नागरिक यसरी देशबाटै लखेटिनुपर्ने अवस्था आउनु दुःखद हो भन्दै सुकीको आलोचना गरिएको छ ।
कतिपयले त उनले प्राप्त गरेकी शान्तिका लागि नोबेल पुरस्कार नै फिर्ता गर्नुपर्ने माग पनि राखेका छन् ।