मुसलमान समुदायको ‘तीन तलाक’ अभ्यास भारतमा अपराध ठहर

 

एजेन्सी, साउन १५ ।

 

भारतीय संसद्ले तीन पटक ‘तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ ।

लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ ।

 

योसँगै अब यदि कुनै मुसलमान श्रीमान्ले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोकेर सम्बन्ध विच्छेद गरेको पाइए उसलाई ३ वर्षसम्म कैद सजाय हुने छ ।

 

राज्यसभामा सत्तारुढ दलको बहुमत नभए पनि विपक्षी दलका केही सांसदले मतदान बहिस्कार गरेपछि विधेयक सजिलै पारित भएको हो । यो विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको थियो ।

 

विधेयकका विषयलाई लिएर राज्यसभामा मतदान हुने भएपछि टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेका थिए ।

दुवै सदनबाट पारित भएपछि अब यो विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठाइएको छ । विवादास्पद मानिएको यो विधेयकमाथि बहसका लागि चार घन्टाको समय छुट्याइएको थियो । त्यसपछि मतदान प्रक्रियामा लगिएको हो ।

 

विधेयकको पक्षमा बहस गर्दै कानुनमन्त्री रविशंकर प्रसादले यो कानुन महिलाको गरिमा बढाउन आवश्यक रहेको जिकिर गर्दै यसले महिला सशक्तीकरण र लैंगिक समानता सुनिश्चित गर्ने बताएका थिए ।

 

तर एनसीपी दलका नेता माजिद मेननले यसमा श्रीमानलाई तीन वर्षको सजायको प्रावधान हटाउनुपर्ने बताएका थिए । उनले विधेयक संसद्को एउटा समितिमा पठाउन माग गरेका थिए ।

 

तर विधेयक समितिमा पुगेपछि भएको मतदानमा विधेयकका पक्षमा ८४ र विपक्षमा १ सय मत खसेको थियो ।

 

बहसमा भाग लिँदै विपक्षी कांग्रेस दलका नेता गुलाम नबी आजादले यो विधेयक विवाहसम्बन्धी अधिकार सुरक्षित गर्न ल्याइएको भनिए पनि यसको खास नियत परिवार भाँड्नु भएको जिकिर गरे । राजनीतिबाट प्रेरित विधेयक भएको उनको भनाइ छ ।