भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिको फोन वार्ता, तनाव घटाउन आग्रह

 

एजेन्सी, भदौ ३ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् ।

कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै मुलुकका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।

ट्रम्पले ट्वीटरमार्फत यसबारे जानकारी दिदैं भनेका छन्, ‘मेरा असल मित्र भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण कश्मीर मुद्दामा जारी तनाव कम गर्ने विषयमा कुरा भयो, यो कठिन समय हो तर कुराकानी राम्रो भयो ।’

ह्वाइट हाउसका प्रवक्ता होगन गाइडलीका अनुसार राष्ट्रपति ट्रम्पले भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई कश्मीरमा जारी तनाव घटाउन आग्रह गरेका छन् ।