प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी

 

काठमाडौं, मंसिर १७ ।

‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ’–उपचारमा संलग्न महाराजगन्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले रासससँग भने ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अंग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ ।

प्रधानमन्त्री ओलीले सोमबार सो सेन्टरको सघन उपचारकक्षबाट ‘भिडियो कन्फरेन्स’मार्फत् आफू उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्नसक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिएका थिए । (रासस)