क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार

पोखरा, असार ४ ।
गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो ।

प्रदेश सरकारले यसअघि पनि १ लाख रुपैयाँ जनही सहयोग दिने गरेको थियो । गण्डकी सरकारले भरतपुर क्यान्सर अस्पतालसँग साझेदारी गरेर गण्डकीका क्यान्सर पीडित विरामीको उपचारमा सहुलियतको व्यवस्था गरेको छ । अहिले पनि भरतपुर अस्पतालसँग नै समन्वय गरेर उपचारमा सहजीकरण गरिने स्वास्थ्य मन्त्री सुशिला सिंखडाले जानकारी दिइन् ।

गण्डकी सरकारले आगामी वर्ष थप १ लाख सहयोग दिने कार्यक्रमका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, सबै जिल्ला अस्पतालमा मृगौलाको डायलायसिस सेवा विस्तार गर्न ६ करोड ८८ लाख छुट्याइएको छ । हाल गण्डकीमा मृगौला पीडित विरामीको अवस्था निकै दयनीय छ ।

९ सय भन्दा बढी डायलायसिस गर्नुपर्ने विरामी मध्ये साढे ५ सयले मात्रै नियमित सेवा पाएका छन् । अझै ३ सय ३ जनाले डायलायसिस सेवा लिन पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै अब पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गरिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

‘गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा भन्ने नाराका साथ डायलायसिस सेवाको प्रतिक्षामा रहेका विरामीको संख्या शून्यमा झार्न डायलायसिस सेवा प्रवाहको क्षमता अभिवृद्धी गरिने छ,’ सरकारको बजेटमा उल्लेख छ ।