मनाङको नासों गाउँपालिकामा सुत्केरीलाई १० हजार नगद, दलित र अपांगता भएकालाई निशुल्क विमा

पोखरा, असार १० ।
मनाङको नासों गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित चेकजाँच गरी सुत्केरी भएका आमाहरुलाई १० हजार नगद सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै अध्यक्ष धनबहादुर गुरुङले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् । ‘स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरी आमालाई १० हजार नगद उपलब्ध गराइने छ,’ नीति कार्यक्रममा उल्लेख छ ।

यस्तै, क्यान्सर, मृगौला र अन्य असाध्य रोगको उपचार मार्फत आराम गरिरहेकाहरुलाई ३० हजार लिएर स्वास्थ्य भेट कार्यक्रम सञ्चालन गर्ने नीति पालिकाले लिएको छ । आगामी वर्ष उत्पादन र विकास निर्माणका क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति छ ।

पूर्ण अपांगता भएका र दलित घरपरिवारलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम लागू गरिएको छ । नासोंले अहिले बढ्दै गइरहेको जलवायू परिवर्तनको असरमा चासो देखाएको छ । ‘जलवायू परिवर्तन न्यूनिकरणको लागि हिमचितुवा तथा सांस्कृतिक परम्परा संरक्षण, बृक्षारोपण र जनचेतनामुलक कार्यक्रम गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रायः हिमाली जिल्लाका स्वास्थ्य संस्थामा औषधी पर्याप्त नहुने गुनासो बढिरहेका बेला नासोंले औषधी अभाव हुन नदिने नीति लिएको छ । यसबाहेक वर्षमा कम्तिमा १ पटक बृहत स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम समेटिएको छ । जेष्ठ नागरिकलाई निशुल्क औषधी वितरण गर्ने, पोषण कार्यक्रम सञ्चालन गर्ने लगायत कार्यक्रम ल्याइएको छ ।

आगामी वर्ष सडक नपुगेका वडाहरुमा सडक विस्तार कार्यक्रमलाई प्राथमिकता दिइएको छ । लार्के पास पर्यटकीय पदमार्गको बृहत गुरुयोजना निर्माण गरि पदमार्ग निर्माणमा पालिकाले जोड दिएको छ । अहिले अन्नपूर्ण चक्रिय पदमार्गको दुरि छोटिएको अवस्थामा यसलाई बैकल्पिक मार्गको रुपमा हेरिएको छ ।