नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैं

काठमाडौं, साउन १३ ।

सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसियाली छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्कदैं छ । ५ टोली सहभागी प्रतियोगीतामा तेस्रो भएको नेपाली टोली आज राती साढे १० बजे काठमाण्डौं आईपुग्ने टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको नेपाल हिजो भएको महत्वपूर्ण खेलमा आयोजक सिंगापुरसंग ८२ रनको फराकिलो हारसंगै एसियाली छनोटबाटै घर फर्कन लागेको हो ।

शत प्रतिशत नतिजासंगै सिंगापुर भने ग्लोबल छनोटमा प्रवेश गरेको छ । युएईमा आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म हुने प्रतियोगीतामा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट ६ टोलीले अष्ट्रेलियामा अर्को बर्ष हुने टी–२० विश्वकपमा सहभागीता जनाउनेछन् । टोलीसंगै रहेका लेगस्पिनर सन्दिप लामिछाने र अलराउण्डर सोमपाल कामी भने ग्लोबल टी–२० क्रिकेट खेल्न हिजै सिंगापुरबाट क्यानडा गएका छन् । उनीहरु आजबाटै टोलीको प्रशिक्षणमा सहभागी हुनेछन् ।

ग्लोबल टी–२० मा सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्समा आवद्ध रहेका छन् ।

(रेडियो कान्तिपुर)