पोखरामा आजदेखि मुख्यमन्त्रीहरुको भेला

पोखरा, असार १५ ।
आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुने भएको छ । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने भएका छन् ।

आज शुक्रबार अन्तर प्रदेश मुख्यमन्त्री बैठक बस्ने र शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षमा अन्तर प्रदेश समन्वय समितिको बैठक बस्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । मुख्यमन्त्रीहरुको भेला शुक्रबार प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने छन् ।

उद्घाटन सत्रपछि प्रदेशका अभ्यास र अप्ठेराबारे प्रमुख सचिवहरुको प्रस्तुति रहने छ । मुख्यमन्त्रीहरुको भेलाले प्रदेशका समस्या र संघ सरकारले सम्वोधन गर्नुपर्ने, तत्काल कानुन बनाइदिनुपर्ने तथा स्थानीय तहले सहजीकरण गर्नुपर्ने विषयको निक्र्योल गरेर प्रधानमन्त्री समक्ष पेश गर्ने छन् ।

लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजना तथा गण्डकी प्रदेश सरकारको समन्वयमा समन्वय परिषदको बैठक बस्नेछ । मुख्यमन्त्रीहरुले पोखरा घोषणापत्रसमेत जारी गर्नेछन् । बैठकमा सातै मुख्यमन्त्री, गाउँपालिका र नगरपालिका महासंघका अध्यक्ष पनि परिषदको सदस्यका हिसाबले सहभागी हुनेछन् ।