निशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

 

पोखरा, माघ २५ ।

पोखरा महानगरपालिका–८ शिवालय मार्गमा रहेको त्रिकोण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फेवासिटि हस्पिटलको प्राविधिक सहयोगमा सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत भएको शिविरबाट १७५ जना लाभान्वित भएका छन् ।

शिविरमा सुगर, प्रेसर र निशुल्क रगत परीक्षण गरिएको सहकारीका सचिव गणेश चालिसेले जानकारी दिए । फेवासिटि हस्पिटलका डा. पद्मराज ढुङ्गाना, डा. सुदर्शन सुवेदी, डा. सुरेशराज पौडेल, डा. अन्नपूर्ण कुँवरसहित ७ जनाको टोलिले स्वास्थ्य परीक्षण गरेको हो ।

स्वास्थ्य परीक्षण गर्न पुग्नेहरुलाई अस्पतालले इण्डोस्कोपी, भिडियो एक्स्रे र इसिजीमा छुट दिएको थियो । सहकारीका उपाध्यक्ष मैयादेवी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै खुसी व्यक्त गरे । उनले रोग जुनसुकै बेला लाग्न सक्ने भन्दै पहिल्यै सचेत भएर समयसमयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।

यस्तै सहकारी र अस्पतालबीच अस्पतालबाट प्रदान हुने विभिन्न सेवामा विशेष छुट दिने सहमति पनि भएको अस्पतालका प्रबन्धक त्रिभुवन पराजुलीले जानकारी दिए । ४ सय शेयर सदस्य रहेको सहकारीले करिब साढे ३ करोडको लगानीमा पोखरा–८ शिवालय मार्गमा त्रिकोण डिपार्टमेन्टल स्टोर्स पनि संचालन गरेको छ ।

शनिबारनै सहकारीका शेयर सदस्यलाई विशेष छुट कार्ड वितरण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापा विशेष अतिथी रहेको कार्यक्रममा सहकारीका शिक्षा शाखा संयोजक सुस्मिता अधिकारीले स्वागत मन्तब्य राखेकी थिइन् ।